सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायका युवाबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले जिल्लाको दक्षिणी क्षेत्रका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउने सोमबारका अवसरमा कोशी नदीमा जल चढाउन डिजे बाजासहित हिँडेका युवाहरूलाई चर्को आवाजमा बाजा नबजाउन आग्रह गरिएपछि सामान्य विवाद सुरु भएको थियो। मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्रमा उक्त विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप, ढुंगामुढा तथा आक्रमणको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
घटनामा देवानगञ्ज–३ निवासी ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाले पुष्टि गर्नुभएको छ। उहाँका अनुसार नेपाल प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना, सशस्त्र प्रहरी बलका ५ जना र ९ जना सर्वसाधारण गरी २४ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगर तथा सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो। घटनाका क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राई पनि घाइते हुनुभएको छ। उहाँको टाउकोमा चोट लागेपछि पाँच वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।
घटनापछि हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लागू गरिएको छ। साथै हरिनगर र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गर्दै २११ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रशासनले हाल अवस्था नियन्त्रणमा रहेको र शान्ति–सुरक्षा कायम राख्न थप सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्