Chauthoanga
२०८३ साउन २० , बुधबार

५५ नाल भरुवा बन्दुक बरामद



प्रहरीले दाङका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म जिल्लाका विभिन्न वन क्षेत्रमा विशेष खोजतलास अभियान सञ्चालन गरिएको थियो। अभियानमा जिल्ला प्रहरी कार्यालयसँगै मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोली सहभागी भएका थिए।
प्रहरीले बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गत रहेका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ। ती बन्दुकका नाल वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले उल्लेख गरेको छ।
यस्तै, लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक बरामद भएको छ। यससँगै अभियानका क्रममा बरामद भएका भरुवा बन्दुकका नालको संख्या ५५ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बरामद भएका सबै भरुवा बन्दुकका नाल बेवारिसे अवस्थामा फेला परेका हुन्। ती हतियार कसले, कहिले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले अवैध हतियार नियन्त्रण, शान्ति–सुरक्षा सुदृढीकरण तथा सम्भावित आपराधिक गतिविधि रोकथामका उद्देश्यले विशेष खोज अभियान सञ्चालन गरिएको जनाएको छ। साथै, यस्ता अवैध हतियारबारे सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ।
प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार