Chauthoanga
२०८३ भदौ २५ , बिहीबार

लगातार दुई हारपछि नेपाललाई जितको दबाब, आज नामिबियासँग निर्णायक भिडन्त



आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा लगातार दुई खेल गुमाएको नेपालले सोमबार नामिबियाविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने भएको छ। नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ।

शृङ्खलाको सुरुआती दुई खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षित प्रदर्शन गर्न नसकेको नेपाल लगातार पराजित भएको थियो। पहिलो खेलमा नेपालले नामिबियासामु १५८ रनको लक्ष्य प्रस्तुत गरे पनि नामिबियाले दुई विकेट मात्र गुमाएर सहज रूपमा लक्ष्य पूरा गर्दै आठ विकेटको जित निकालेको थियो। त्यस खेलमा जेजे स्मिथको प्रभावशाली बलिङले नेपाली ब्याटिङ क्रमलाई दबाबमा पारेको थियो।

दोस्रो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको थियो। नेदरल्यान्ड्सले चार विकेट गुमाएर ३५ ओभरमै लक्ष्य भेट्टाउँदै ६ विकेटको जित हात पारेको थियो।

लगातार दुई हारपछि नेपाल विश्वकप ग्लोबल क्वालिफायरको प्रत्यक्ष यात्राका लागि दबाबमा परेको छ। लिग–२ को अंकतालिकामा ३० खेलबाट २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा रहेको छ भने समान खेलबाट समान २४ अंक भएको नामिबिया छैटौँ स्थानमा छ। आयोजक नेदरल्यान्ड्स भने ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा पुगेको छ।

नेपालले सोमबार नामिबियासँग र बुधबार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। शीर्ष चारभित्र रहँदै सिधै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्ने सम्भावना कायम राख्न नेपालका लागि बाँकी खेलहरूमा जित अपरिहार्य मानिएको छ। त्यसका लागि ब्याटिङमा स्थायित्व, बलिङमा अनुशासन र फिल्डिङमा सुधार नेपालको प्रमुख चुनौती रहने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार