Chauthoanga
२०८३ असोज २१ , बुधबार

दशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे



यस वर्षको बडादशैँअन्तर्गत विजयादशमीको टीकाका लागि उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार विजयादशमीका दिन बिहान ८ बजेर ९ मिनेटमा देवी विसर्जन गरेपछि टीकाको साइत खोज्नेहरूले बिहान १० बजेर २६ मिनेटमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सक्नेछन्।

टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ। यद्यपि विजयादशमीका दिन दिनभर नै टीका लगाउन सकिने भएकाले तोकिएको साइत अनिवार्य नभएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको छ।

नेपालमा दशैँलाई धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको पूजा, आराधना तथा प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ। देशका विभिन्न स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने चलन छ भने कतिपय स्थानमा विजयादशमीकै दिन मात्र टीका लगाउने परम्परा रहेको छ।

घटस्थापनाको साइत असोज २५ गते

यस वर्षको नवरात्र असोज २५ गते आइतबारदेखि सुरु हुँदैछ। समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ।

नवरात्रको दोस्रो दिन अर्थात् असोज २६ गते सोमबार झण्डा फेर्ने साइत बिहान १० बजेर ७ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ।

यस वर्ष असोज ३१ गते शनिबार फूलपाती परेको छ। कात्तिक १ गते आइतबार महाअष्टमी तथा सोही राति कालरात्रि पर्व मनाइनेछ। कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि परेको समितिले जनाएको छ।

त्यसपछि कात्तिक ३ गते मंगलबार महानवमी र कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ। विजयादशमीकै दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने मुख्य परम्परा रहँदै आएको छ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार