दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायहरूको बैठकले चाडपर्वमा यात्रुको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
बैठकले लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख गर्नुपर्ने तथा टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र पोसाक अनिवार्य रूपमा लगाउनुपर्ने निर्णय गरेको छ ।
अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीले यातायात व्यवसायी, श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिसँगको छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको जानकारी दिनुभयो ।
यस वर्ष दशैंको अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन गरिएको छ । अग्रिम टिकट बुकिङ औपचारिक रूपमा खुला नहुँदा यात्रुमा देखिएको अन्योल हटाउन तथा टिकट बिक्रीलाई व्यवस्थित बनाउन निर्णय गरिएको हो ।
बैठकले चाडपर्वका बेला यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने तथा टिकट बिक्रीमा अनियमितता गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । टिकट बिक्री प्रणालीलाई पारदर्शी बनाउन सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिने निर्णय भएको छ ।
त्यसैगरी, राजमार्गमा हुने अवरोध तथा सम्भावित दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ । यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, आगो नियन्त्रण गर्ने उपकरण तथा पिउने पानीजस्ता अत्यावश्यक सुविधा उपलब्ध गराउनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
चाडपर्वका बेला बसपार्क र टिकट काउन्टरमा यात्रुको चाप बढ्ने तथा टिकट नपाउँदा यात्रुले सास्ती भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा निकायको प्रभावकारी परिचालनमा जोड दिइएको छ ।
सरकार तथा सम्बन्धित निकायले टिकट बुकिङ, भाडा निर्धारण र सवारीसाधनको सुरक्षासम्बन्धी निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके चाडपर्वको यात्रा सहज र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्