दाङको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको विदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको स्वागत गरिएको छ। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पौडेलको फेरी भेटौला तथा विदाई कार्यक्रम गरी विदाई गरेका हुन् । प्रमुख प्रसाशकीय अधिकृत चन्द्रकान्त पौडेलको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सरुवा भएको छ । विदाई भएर जानुभएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बंगलाचुली गाउँपालिकामा कार्यरत रहँदा उहाँले सम्पादन गरेका प्रशासनिक कार्य, कार्यालय सञ्चालन, सेवा प्रवाह तथा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयका विषयमा कार्यक्रममा चर्चा गर्नुभएको थियो ।
विदाइ मन्तव्य राख्दै चन्द्रकान्त पौडेलले गाउँपालिकामा कार्यरत रहँदाका अनुभव तथा यहाँ बिताएका महत्वपूर्ण क्षणहरू स्मरण गर्नुभयो। उहाँले स्थानीय तहको प्रशासनिक जिम्मेवारी निर्वाह गर्ने क्रममा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबाट प्राप्त सहयोग र सहकार्यलाई आफ्नो कार्यकालको महत्वपूर्ण पक्षका रूपमा लिनुभयो। स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहका लागि संस्थागत समन्वय, कार्यसम्पादनमा प्रतिबद्धता र प्रशासनिक अनुशासन आवश्यक रहेको उहाँको भनाइ थियो।
यसैविच आजै सल्यानको कपुरकोट गाउँपालकाबाट सरुवाभई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेललाई पनि स्वागत गरिएकोछ । स्वागत कार्यक्रममा बोल्दै उहाँले गाउँपालिकाको प्रशासनलाई नेपालको सार्वजनिक प्रशासनका मूल्यमान्यता, प्रचलित कानुन, विधि, प्रक्रिया र संस्थागत उत्तरदायित्वअनुसार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई सहज, सरल, पारदर्शी र प्रभावकारी सेवा उपलब्ध गराउनु स्थानीय प्रशासनको प्रमुख दायित्व भएकाले सेवाप्रवाहमा सुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिने बताउनुभयो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पौडेलले गाउँपालिकामा निर्वाह गरेको प्रशासनिक भूमिकाको स्मरण गर्दै उहाँको आगामी जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीचको संस्थागत सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग पनि समन्वय र सहकार्यका आधारमा गाउँपालिकाका प्राथमिकता कार्यान्वयन गरिने बताउनुभयो।
गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले कर्मचारी सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि कार्यकालमा निर्माण भएको संस्थागत सहकार्य महत्वपूर्ण हुने बताउनुभयो। उहाँले निवर्तमान अधिकृतको अनुभवबाट गाउँपालिकाले लाभ लिएको उल्लेख गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई केन्द्रमा राखेर प्रशासन सञ्चालन गर्न आग्रह गर्नुभयो।

गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले प्रशासनिक प्रणालीलाई सेवामुखी, पारदर्शी र जवाफदेही बनाउनु स्थानीय तहको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। उहाँले जनप्रतिनिधिको नीति तथा निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्षम प्रशासनिक संयन्त्र आवश्यक रहेको उल्लेख गर्नुभयो।
वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्यले सरुवाई जानुभएका प्रमुख प्रसासकिय अधिकृ संगको सहकार्यको विषयमा चर्चागर्नुभएको थियो । साथै उहाँले सार्वजनिक वित्त व्यवस्थापनमा आर्थिक अनुशासन, पारदर्शिता र प्रचलित कानुनी प्रक्रियाको पालना अपरिहार्य रहेको बताउनुभयो। उहाँले नेतृत्व परिवर्तन भए पनि संस्थागत प्रणाली र प्रशासनिक कार्यसम्पादनमा निरन्तरता कायम राख्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आगामी जिम्मेवारीका लागि शुभकामना दिँदै नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार



प्रतिक्रिया दिनुहोस्