Chauthoanga
२०८३ भदौ १० , बुधबार

रसुवाको टिमुरे बजारमा आएको आकस्मिक बाढीद्वारा ठूलो क्षति



रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ । बिहान करिब ९ बजे भोटेकोसी नदीमा आएको बाढी बस्तीमा पस्दा टिमुरे बजारका धेरै घर तथा संरचना बगाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीपछि टिमुरे बजारमा पाँचदेखि सातवटा घर मात्रै बाँकी रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ । घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरीसमेत प्रभावित भएका छन् । कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकामा हालसम्म आठ जना मात्र सम्पर्कमा आएको प्रहरीले जनाएको छ । बाँकी प्रहरीको अवस्था र घटनास्थलको क्षतिबारे थप विवरण संकलन भइरहेको छ ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा मुग्लिनसम्म उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अचानक आएको बाढीका कारण टिमुरे क्षेत्रमा यातायात, सञ्चार तथा अन्य पूर्वाधारमा समेत असर परेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले सुरक्षा निकायले उद्धार तथा क्षतिको विवरण संकलनलाई प्राथमिकता दिएका छन् ।

बाढीको जोखिम बढेपछि त्रिशूली र भोटेकोसी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार