Chauthoanga
२०८३ भदौ ५ , शुक्रबार

लामखुट्टेबाट सर्ने रोगको जोखिम कायमै



नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइलेलगायतका कीटजन्य रोगको जोखिम अझै कायम रहेको छ। जलवायु परिवर्तन, सहरीकरण, लामखुट्टेको वासस्थान विस्तार तथा मानिसको बढ्दो आवतजावतका कारण यस्ता रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचनले कीटजन्य रोगको जोखिम न्यूनीकरणका लागि रोग निगरानी, पूर्वतयारी तथा स्थानीय तहसँगको समन्वयलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार रोगको सम्भावित प्रकोप नियन्त्रण गर्न स्वास्थ्य निकायहरू सतर्क अवस्थामा रहेका छन्।

नेपालमा पछिल्ला वर्षहरूमा डेङ्गु प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ। एडिज एजिप्टाइ र एडिज एल्बोपिक्टस जातका लामखुट्टेबाट सर्ने डेङ्गु पहिलेजस्तो तराई र भित्री मधेसमा मात्र सीमित नरही पहाडी तथा सहरी क्षेत्रमा समेत फैलिएको छ। कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न सके डेङ्गु नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने बताउनुभयो।

यस्तै, एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने मलेरियाको जोखिम पनि कायम रहेको छ। नेपालले मलेरिया उन्मूलनको लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि सीमावर्ती क्षेत्र तथा विदेशबाट आउने सङ्क्रमित व्यक्तिका कारण जोखिम पूर्ण रूपमा हट्न सकेको छैन।

जापानिज इन्सेफ्लाइटिस विशेषगरी बालबालिकाका लागि गम्भीर रोग मानिन्छ। यसको नियन्त्रणका लागि नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ। त्यस्तै, हात्तीपाइले रोग नियन्त्रण तथा उन्मूलनका लागि जोखिमयुक्त क्षेत्रमा औषधि सेवन अभियान जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विज्ञहरूले डेङ्गु नियन्त्रणका लागि घर तथा समुदायमा रहेका पानीका ट्याङ्की, ड्रम, गमला, पुराना टायर, बोतल तथा पानी जम्न सक्ने अन्य वस्तु नियमित सफा गर्न र पानी जम्न नदिन आग्रह गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार लामखुट्टेबाट सर्ने रोगहरूले विश्वभर वार्षिक ७० करोडभन्दा बढी मानिसलाई प्रभावित पार्ने तथा सात लाखभन्दा बढीको मृत्यु हुने गरेको अनुमान छ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार