सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काएर देशभित्रै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता दोहोराइरहेका बेला चालु आर्थिक वर्षको पहिलो महिनामै ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकले रोजगारीका अवसरको खोजीमा विदेशिने नेपालीको संख्या अझै तीव्र गतिमा बढिरहेको देखाएको छ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार साउन महिनामा मात्रै ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ४ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए। यस आधारमा एक वर्षको अवधिमा विदेशिने नेपालीको संख्या २५ हजार ९ सय ७५ ले बढेको छ।
श्रम स्वीकृति लिनेहरूमध्ये पुरुषको संख्या उल्लेख्य रूपमा बढी रहेको छ। साउनमा श्रम स्वीकृति लिने कुल कामदारमध्ये ६० हजार ४ सय ७२ जना पुरुष र ९ हजार ९ सय ६९ जना महिला रहेका छन्। प्रतिशतका आधारमा पुरुष ८५.८ प्रतिशत र महिला १४.२ प्रतिशत रहेका छन्। अघिल्लो वर्षको तुलनामा पुरुषको संख्या २२ हजार ७१ र महिलाको संख्या ३ हजार ९ सय ४ ले वृद्धि भएको विभागले जनाएको छ।
गन्तव्य मुलुकका आधारमा हेर्दा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारको पहिलो रोजाइ बनेको छ। साउन महिनामा यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ हजार ५ ले बढी हो। त्यसपछि मलेसियामा १२ हजार ४ सय ९८, कतारमा १० हजार ३ सय ६०, साउदी अरेबियामा ८ हजार ६ सय १३, कुवेतमा ४ हजार ५ सय ६७ र रोमानियामा २ हजार ९ सय ८ जना कामदार गएका छन्।
हाल खाडी मुलुकसँगै जापान, पोर्चुगल, साइप्रस, टर्की र ओमनजस्ता देशहरू पनि नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य बन्दै गएको तथ्यांकले देखाएको छ। तुलनात्मक रूपमा राम्रो आम्दानी र रोजगारीका अवसरका कारण विकसित राष्ट्रतर्फको आकर्षण बढ्दो क्रममा रहेको विभागको विश्लेषण छ।
जिल्लागत रूपमा धनुषा वैदेशिक रोजगारीमा जानेको संख्यामा पुनः पहिलो स्थानमा रहेको छ। साउनमा धनुषाबाट ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन्। झापा ३ हजार १ सय ४५ जनासहित दोस्रो स्थानमा रहेको छ भने सिरहा २ हजार ८ सय ३५ र महोत्तरी २ हजार ६ सय २९ जनासहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
सीपका आधारमा विदेशिने कामदारमध्ये दक्ष जनशक्तिको संख्या सबैभन्दा बढी रहेको छ। विभागका अनुसार ४० हजार ४ सय ९६ जना दक्ष, १७ हजार ९ सय ९९ जना अदक्ष र ११ हजार ४ सय ६५ जना अर्धदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन्। उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जानेको संख्या क्रमशः १ सय ३ र ३ सय ७८ रहेको छ।
प्रक्रियागत रूपमा २१ हजार ४ सय ४७ जनाले म्यानपावर कम्पनीमार्फत, २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृतिमार्फत, १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा तथा ७ सय १२ जनाले जी–टु–जी प्रणालीमार्फत श्रम स्वीकृति लिएका छन्। तथ्यांकले देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारी नेपाली युवाको प्रमुख विकल्पका रूपमा कायम रहेको संकेत गरेको छ।




प्रतिक्रिया दिनुहोस्