Chauthoanga
२०८३ असोज २४ , शनिबार

प्रसूति सेवाका लागि रेफर भएकी महिलालाई अध्यक्षकै गाडीमा घोराही पठाइयो



दाङको बंगलाचुली गाउँपालिकामा प्रसूति व्यथाले च्यापेकी २३ वर्षीया महिलालाई एम्बुलेन्स तत्काल उपलब्ध नभएपछि गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले प्रयोग गर्ने सरकारी गाडीमार्फत थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको छ। बंगलाचुली गाउँपालिका–३, डुब्ब्रुङकी केशरी पुनलाई बंगलाचुली आधारभूत अस्पतालबाट प्रतिष्ठानमा रेफर गरिएको हो।
डेलिभरीका लागि बंगलाचुली आधारभूत अस्पताल पुगेकी पुनको लामो समयसम्म पनि बच्चा जन्मिन नसकेपछि थप उपचार तथा प्रसूति सेवाका लागि घोराहीस्थित प्रतिष्ठानमा रेफर गरिएको हो। त्यसका लागि तत्काल एम्बुलेन्स उपलब्ध नभएपछि गाउँपालिका अध्यक्षले आफू प्रयोग गर्ने पालिकाको सरकारी गाडीमा राखेर उनलाई प्रतिष्ठानसम्म पठाउने व्यवस्था गर्नुभएको हो ।
गाउँपालिका प्रशासनका अनुसार बंगलाचुली आधारभूत अस्पतालमा एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाइएको भए पनि खरिदको काम अझै सम्पन्न भइसकेको छैन। एम्बुलेन्स उपलब्ध हुन केही समय लाग्ने अवस्थामा रहेको गाउँपालिकाको भनाई छ । यही कारण तत्काल आवश्यक परेको अवस्थामा बिरामीलाई अस्पतालबाट अर्को स्वास्थ्य संस्थासम्म पुर्‍याउन गाउँपालिका अध्यक्षले प्रयोग गर्ने सरकारी गाडी प्रयोग गर्नुपरेको हो।
प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार