Chauthoanga
२०८३ भदौ ५ , शुक्रबार

वर्षाका कारण देशभर सडक अवरुद्ध



निरन्तर वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् भने बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडक प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ भने मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।

यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ। इलामको राजदुवाली क्षेत्रमा हिलो जमेर मेची राजमार्ग अवरुद्ध भएको छ भने सिन्धुपाल्चोकको कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक तथा पासाङल्हामु सडकखण्ड, रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक र लमजुङको बेँसीसहर–मनाङ सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन्।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन, मौसम तथा सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी मुस्ताङ, मनाङ, रसुवा तथा हिमाली जिल्लातर्फ यात्रा गर्ने यात्रुले सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार