दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा कार्यक्रम स्मपन्न गरेको छ । गाउँपालकाले आर्थिक वर्ष २०८२/०८३ मा ८१.४५ प्रतिशत वित्तीय प्रगति प्राप्त गरेको छ । पालिकाले शिक्षा, पूर्वाधार, आन्तरिक राजस्व, स्वास्थ्य, कृषि, पशु सेवा, लघु उद्यम तथा सामाजिक सुरक्षा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि प्राप्तगरेको हो । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज कमिरेचौरमा सम्पन्न आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा यस्तो तथ्यङ्ग प्रस्तुत गरिएको छ । गाउँपालिकाले सीमित स्रोत र भौगोलिक जटिलताका बाबजुद सन्तुलित र परिणाममुखी विकासलाई अघि बढाएको पाइएको हो।
समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको आन्तरिक आय विवरणअनुसार पालिकाले १ करोड ५० लाख रुपैयाँको राजस्व लक्ष्य राखेकोमा १४६ प्रतिशत अर्थात् २ करोड १८ लाख ८५ हजार ७५४ रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्न सफल भएको छ । जसमा खानीजन्य स्रोतबाट ८० लाख २३ हजार, व्यवसाय दर्ताबाट ४७ लाख ८५ हजार तथा मालपोतबाट १८ लाख ८ हजार रुपैयाँभन्दा बढी सङ्कलन भएको राजस्व शाखाका हस्तबहादुर सोती मगरले जानकारी गराउनुभयो। पूर्वाधार तथा योजना शाखा प्रमुख विष्णु पुनका अनुसार यस आर्थिक वर्षमा कुल १८४ वटा योजनाहरू सफलतापूर्वक सम्पन्न भएका छन्, जसमा इ-बिडिङमार्फत २३ वटा ठेक्का तथा एलआईएसपी (LISP) साझेदारीमा १५ वटा खानेपानी, सडक र सिँचाइ योजना सम्पन्न गरिनुका साथै झेल्नेटा चोकदेखि सुधा माविसम्म ६२० मिटर र प्रशासनिक भवन पहुँचमार्ग २८५ मिटर सडक कालोपत्रेको काम सम्पन गरिएको छ । त्यसैगरी १५५ मिटर आरसीसी ढलान, ७.४४ किमी ग्राभेल, ६.२६ किमी नयाँ ट्रयाक खोल्ने र १३.७ किमी सडक स्तरोन्नति गरिएको छ। भने सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ५३ घरधुरीमा टिनको छाना र ९०० मिटर लामो मानाखोला-गहेतेरा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएको छ । साथै पालिकाभर ‘एक घर एक धारा’ अभियान तीव्र रूपमा अघि बढेको छ।
शिक्षा, युवा तथा खेलकुद शाखामार्फत ९३ प्रतिशत बजेट कार्यान्वयन गरिएको छ । जसअनुसार ४१ वटा सामुदायिक विद्यालयका ५ हजार ३ सय ९५ जना विद्यार्थीको शिक्षण सुधार, राष्ट्रपति रनिङ शिल्ड तथा बंगलाचुली कप सञ्चालन, शिक्षकहरूलाई सूचना प्रविधि तालिम र रिएल प्लान कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको शाखा प्रमुख ओमप्रकाश केसीले जानकारी दिनुभयो ।
कार्य्रममा जनस्वास्थ्य कार्यक्रमतर्फ १५ शय्याको आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत विभिन्न कार्यक्रम तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ । जसमा निःशुल्क आधारभूत औषधि वितरण, ८९६ परिवारलाई स्वास्थ्य बिमामा आबद्ध, र राष्ट्रिय खोप कार्यक्रम तथा पोषण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ।
कृषि विकास शाखामार्फत ११ हजार ६१ बोरा युरिया, ५ हजार ८ बोरा डीएपी र १२५ बोरा पोटास रासायनिक मल वितरण गर्नुका साथै ५० प्रतिशत अनुदानमा कलमी फलफूल बेर्ना उत्पादन, ४७७ जनालाई एकीकृत शत्रुजीव व्यवस्थापन अभिमुखीकरण, १६ जनालाई मिनीटिलर power tiller सहित व्यावसायिक कृषि यन्त्र र ८१० जना कृषकलाई तरकारी मिनीकिट वितरण गरिएको छ।
कार्य्रममा पशु सेवा शाखा प्रमुख माधव भट्टराईका अनुसार ८७.७७ प्रतिशत योजना सम्पन्न गर्दै १५ हजार बाख्रालाई पिपिआर, ६ हजार ५ सय गाईभैँसीलाई खोरेत र ३०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ३७६ जना कृषकलाई पशु स्वास्थ्य शिविरमार्फत प्रत्यक्ष लाभ पुऱ्याईएको छ । भने पालिकाबाट ३८ हजार ५४५ रुपैयाँ पशु राजस्व सङ्कलन गरिएको छ।
रोजगार संयोजक बुद्धिराम डाँगीका अनुसार रोजगार सीप तथा उद्यमशीलता केन्द्रमार्फत सूचिकृत १४५८ बेरोजगारमध्ये ८१७ जनालाई औसत ८४.४ दिनका दरले कुल ९६ हजार ६६९ मानवदिन बराबरको रोजगारी सिर्जना गरिएको छ भने १५ जनालाई वैदेशिक रोजगारी सहजीकरण र ७ जनाको श्रम स्वीकृतिमा सहजीकरण गरिएको छ। लघु उद्यम विकास शाखाका विरेन्द्र चौधरीका अनुसार ४२ जना नयाँ उद्यमी सिर्जना गर्न तरकारी र चप्पल उत्पादन सीप तथा प्रविधि हस्तान्तरण गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी कल्पना केसीका अनुसार लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान, ८५ वर्षमाथिका ४५ जना ज्येष्ठ नागरिकलाई कम्बोल वितरण, १५ जना महिलालाई अल्लोको झोला तथा तान बुनाई तालिम, दलित वर्गका लागि आरन सामग्री वितरण र द्वन्द्वपीडित तथा सहिद परिवारलाई सम्मान र बिमा कार्यक्रम सञ्चालन गरिएको छ भने न्यायिक समितिमा दर्ता भएका १७ वटा मुद्दामध्ये ११ वटा मुद्दा सफलतापूर्वक मिलापत्र गराएको छ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कमल कँवर मगरका अनुसार पालिकाका २हजार६ सय ७० जना लक्षित लाभग्राहीहरूलाई ४ वटा त्रैमासिकमा गरी कुल ९ करोड १५ लाख ४ हजार ८३६ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वडा र पायक पर्ने स्थानबाट वितरण गरिएको छ। आर्थिक प्रशासन शाखाका अनुसार समग्र विकास कार्यक्रमको प्रभावकारी व्यवस्थापनका साथै प्रशासन शाखाले संस्थागत सुशासन र अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने कार्य अघि बढाएको छ। कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले समीक्षा गोष्ठीमा प्राप्त रचनात्मक सुझाव, जनशक्ति अभाव र भौगोलिक विकटताका चुनौतीहरूलाई मध्यनजर गर्दै आगामी दिनमा कृषि, पशुपालन र स्थानीय स्रोत-साधनको समुचित उपयोगमार्फत समृद्ध बंगलाचुली निर्माणको अभियानमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्य लगाएतले बोल्नुभएको थियो। वडा नम्वर एक, दुई, तिन, चार,पाँच ,छ र आठका अध्यक्ष,कार्यपालिका सदस्य,गाउँपालिकाका विभिन्न शाखाका शाखाप्रमुख,कर्मचारीलगाएतको शहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो ।




प्रतिक्रिया दिनुहोस्