Chauthoanga
२०८३ मंसिर १२ , शुक्रबार

करार कर्मचारी देखि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिदै



सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको नीति रहेको छ।नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको बताउनुभयो।

मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक तथा बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया थालिएको छ।त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन सङ्घीय सरकारले सह-योगदान गर्ने व्यवस्था अघि बढाइएको छ। स्थानीय तहको सहयोगमा कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको रकम सङ्घीय सरकारले जम्मा गरिदिने व्यवस्था तयार गरिएको मन्त्री बादीले जानकारी दिनुभयो।

सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहमा श्रम गर्ने नागरिकसम्मलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।मन्त्री बादीले विभिन्न निकाय र क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी र प्रभावकारी बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास सरकारको प्राथमिकता रहेको उहाँको भनाइ छ।

सामाजिक सुरक्षा प्रणालीलाई दिगो बनाउन सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय संयन्त्र सुदृढ गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। कोषको सञ्चालक समितिलाई थप सक्षम र प्रतिनिधिमूलक बनाउँदै वास्तविक श्रमिक तथा रोजगारदाताको प्रतिनिधित्व सुनिश्चित गर्ने काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भार नभई श्रमिकको क्षमता, उत्पादकत्व र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीको भनाइ छ।हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्। कोषमा एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ।

नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालाई गैरयोगदानमूलक प्रणालीबाट र रोजगारी तथा योगदान गर्न सक्ने नागरिकलाई योगदानमा आधारित प्रणालीबाट संरक्षण गर्ने सरकारको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो। यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार