Chauthoanga
२०८३ साउन ४ , सोमबार

सुकाखाेलामा निर्माणाधीन पुलको अनुगमन, वर्षायाममा वैकल्पिक सडक सञ्चालन गर्न निर्देशन



सुकाखाेलामा निर्माणाधीन पुलको अनुगमन, वर्षायाममा वैकल्पिक सडक सञ्चालन गर्न निर्देशनदाङको बीपी राजमार्गअन्तर्गत पर्ने घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकालाई जोड्ने सुकाखाेलामा निर्माणाधीन पक्की पुल तथा सो क्षेत्रको सडक अवस्थाको आज स्थलगत अनुगमन गरिएको छ। वर्षायाममा सवारी तथा जनतालाई आवतजावतमा समस्या हुन नदिन आवश्यक तयारी र वैकल्पिक सडक सञ्चालनको व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको हो।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक भक्तबहादुर जिसीको नेतृत्वमा गरिएको अनुगमनमा वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डागी, पूर्वाधार विकास कार्यालयका इन्जिनियर, निर्माण व्यवसायी तथा सम्बन्धित पक्षको सहभागिता रहेको थियो। टोलीले निर्माणाधीन पुल, पहुँच सडक तथा वर्षातका कारण हुन सक्ने सम्भावित जोखिमबारे स्थलगत निरीक्षण गरेको जनाएको छ।
अनुगमनका क्रममा उपाध्यक्ष भक्तबहादुर जिसीले वर्षायाममा बंगलाचुलीको भौगोलिक विकटताका कारण यातायात सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दाले दैनिक जीवन, स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज ढुवानीमा कठिनाइ भोग्नुपर्ने अवस्था आउने भएकाले त्यसतर्फ विशेष ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो। उहाँले पुल निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै वर्षायामभर वैकल्पिक माध्यमबाट सवारीसाधन सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो।
उपाध्यक्ष जिसीले भन्नुभयो, “वर्षात्का कारण स्थानीय नागरिकले अनावश्यक सास्ती बेहोर्न नपरोस् भन्ने हाम्रो प्राथमिकता हो। पुल निर्माणसँगै वैकल्पिक सडक सञ्चालनको व्यवस्था मिलाएर यातायातलाई निरन्तरता दिन निर्माण पक्षसँग समन्वय गरिएको छ।”
वडा नम्बर ४ का अध्यक्ष डाँसबहादुर डागीले स्थानीय तहले विकास निर्माणका कामलाई निरन्तर अनुगमन गरिरहेको बताउनुभयो। उहाँका अनुसार वर्षायाममा सडक अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै समयमै आवश्यक निर्णय र समन्वय भइरहेको छ। “स्थानीयको सहज आवतजावत हाम्रो मुख्य चासो हो। निर्माण कार्य पनि अघि बढ्ने र नागरिकको दैनिक आवागमन पनि प्रभावित नहुने गरी काम गर्न निर्माण पक्षलाई आग्रह गरेका छौँ,” उहाँले भन्नुभयो।
अनुगमन टोलीले निर्माण व्यवसायीसँग आवश्यक समन्वय गर्दै वर्षायाममा समेत यातायात सञ्चालनलाई सहज बनाउने उपाय अवलम्बन गर्न आग्रह गरेको जनाएको छ।
पछिल्ला केही समययता सामाजिक सञ्जालमा जनप्रतिनिधिले त्यस क्षेत्रकाे सडक समस्याप्रति चासो नदिएको भन्ने टिप्पणीहरू देखिए पनि हाल गरिएको स्थलगत अनुगमनले स्थानीय सरकार, प्राविधिक निकाय र निर्माण पक्षबीच समन्वयमार्फत समस्या समाधानका लागि पहल भइरहेको देखाएको उपाध्यक्ष भक्त बहादुर जिसिले बताउनु भयाे । यद्यपि पुल निर्माणको प्रगति, गुणस्तर र समयमै सम्पन्न हुने विषय भने सम्बन्धित निकायको निरन्तर अनुगमन र निर्माण व्यवसायीको कार्यसम्पादनमा निर्भर रहनेछ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार