Chauthoanga
२०८३ भदौ १० , बुधबार

चिया क्षेत्रको समस्याबारेको कार्यदलले बुझायो प्रतिवेदन



काठमाडौं । नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

कार्यदलले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवसमक्ष प्रतिवेदन बुझाएको हो ।

मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले दुई सातामा प्रतिवेदन तयार पारी मन्त्री यादवलाई हस्तान्तरण गरेको हो ।

नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागु गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असरलाई सम्बोधन गर्ने गरी कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सिफारिस गरेको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार र निर्यातमा देखिएका नीतिगत तथा व्यावहारिक अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको र कार्यदलका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइन् ।

भारतको नयाँ नीतिले निर्यातमा गम्भीर संकट

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २०,६०२ हेक्टर क्षेत्रफलबाट २ करोड ६१ लाख किलोग्रामभन्दा बढी तयारी चिया उत्पादन भएको थियो । उत्पादित चियामध्ये ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ५९९ मेट्रिक टन चिया निर्यात भएकोमा ८६.७७ प्रतिशत हिस्सा भारततर्फ मात्रै रहेको छ ।

तर, भारत सरकारको टी बोर्डले १ मे २०२६ देखि अनिवार्य गुणस्तर परीक्षणसम्बन्धी नयाँ निर्देशिका लागु गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको थियो । प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, चर्को परीक्षण शुल्क र सीमामा रोकावटका कारण चिया उद्योगी, निर्यातकर्ता, साना किसान र मजदुरहरूको जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार