प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशीका अवसरमा आजदेखि चार महिनासम्म गरिने चतुर्मास व्रत तथा तुलसीको विशेष पूजा आराधना सुरु भएको छ। आज घरघरका तुलसी मोठमा एक महिनाअघि रोपिएको दलको बिरुवा सारेर विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ।
चतुर्मासका रूपमा चिनिने यी चार महिनामा श्रद्धालुहरूले विशेष व्रत, पूजा र फलाहार गर्ने चलन छ। सक्ने भक्तजनले वर्षभरका २४ वटै एकादशीमा व्रत बस्ने भए पनि धेरैले चतुर्मासका आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्र व्रत बस्ने गर्दछन्।
हरिशयनी एकादशीका अवसरमा राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। धार्मिक मान्यतासँगै तुलसीलाई वैज्ञानिक रूपमा पनि शुद्ध हावा प्रवाह गराउने तथा औषधीय गुणयुक्त वनस्पतिका रूपमा मानिन्छ। चार महिनासम्म विशेष पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विधिपूर्वक विवाह गराइने वैदिक परम्परा रहेको छ।












प्रतिक्रिया दिनुहोस्