Chauthoanga
२०८३ असोज १७ , शनिबार

नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु



नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् भने दुई जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, नामथर र ठेगाना नखुलेका करिब ४०/४२ वर्षीय एक पुरुषको पनि घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिनुभयो।

दुर्घटनापछि बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान ६ः१५ बजे उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढालाई थप उपचारका लागि बिहान ६ बजे चितवन मेडिकल कलेज, भरतपुर पठाइएको थियो। यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको र उहाँलाई बिहान ७ः४० बजे थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

अन्य घाइतेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारू, राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारू, बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई अनुहार, टाउको, कम्मर, हात तथा खुट्टामा चोट लागेको र अधिकांश घाइते बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये अनोज खत्री अछामस्थित श्री गोरखबक्स गण मंगलसेन ब्यारेकमा प्युठ पदमा कार्यरत रहेको र दसैं बिदामा घरतर्फ जाँदै गरेको खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्नेबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार