रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको २२औँ दिनसम्म एक हजार ३९९ जनाको शव भेटिएको छ भने पाँच हजार १७९ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिनुभएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको बताइएको छ ।
भेटिएका शवमध्ये पहिचान हुन बाँकीको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका नागरिकमध्ये विभिन्न ३० होल्डिङ सेन्टरमा नुवाकोटका एक हजार ४९९, रसुवाका ८२५ र धादिङका ९४ जना रहेका छन् ।
यस्तै, १९ अस्पतालमा ३४३ जनाको उपचार गरिएकोमा २८२ जना डिस्चार्ज भइसकेका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी–गैरसरकारी क्षेत्रबाट खोजी, उद्धार, उपचार र राहत व्यवस्थापन जारी रहेको प्राधिकरणले बताउनुभएको छ ।
बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा सात खर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्