Chauthoanga
२०८३ भदौ २९ , सोमबार

हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै



नेपाली महिलाले धार्मिक आस्था, पारिवारिक सुख–शान्ति र सामाजिक सद्भावसँग जोडेर विशेष महत्वका साथ मनाउने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिवको पूजा–आराधना तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति, समृद्धि र कल्याण प्राप्त हुने धार्मिक विश्वासका साथ महिलाहरू बिहानैदेखि शिवालय तथा मन्दिरमा पुगिरहेका छन् ।

तीजको अवसरमा दाङसहित देशका विभिन्न जिल्लाका शिवमन्दिरमा बिहानैदेखि दर्शनार्थी तथा व्रतालु महिलाको घुइँचो लागेको छ । रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरू पूजा–आराधना, भजन–कीर्तन तथा नाचगानमा सहभागी भइरहेका छन् । तीज नेपाली समाजमा केवल धार्मिक पर्व मात्र नभई महिला–महिलाबीच आत्मीयता, सुख–दुःख साटासाट गर्ने र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण सांस्कृतिक अवसरका रूपमा समेत स्थापित छ ।

हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको यस वर्षको तीज पर्व आज व्रत तथा पूजाआराधनासहित मनाइँदैछ भने ऋषि पञ्चमीको पूजासँगै तीज पर्वको मुख्य धार्मिक क्रम सम्पन्न हुनेछ । सरकारले तीजका अवसरमा महिलालाई सार्वजनिक बिदासमेत दिएको छ ।भने लुम्बिनि प्रदेशभर तिजपर्वको सार्वजनिक विदा दिईएको छ ।

यद्यपि, यस वर्षको तीजमा विगतका वर्षमा जस्तो व्यापक उत्साह र भव्यता भने देखिएको छैन । पछिल्लो समय आएको भोटेकोशी बाढी तथा विभिन्न प्राकृतिक विपद्ले पुर्यासएको मानवीय र भौतिक क्षतिको पीडाले तीजको खुसीमा समेत प्रभाव पारेको छ । विपद्का कारण आफन्त गुमाएका, घरबार तथा सम्पत्ति गुमाएका परिवारप्रति सहानुभूति प्रकट गर्दै धेरै ठाउँमा तीजलाई संयमित र सामाजिक उत्तरदायित्वसहित मनाउने प्रयास भइरहेको छ ।

तीजको व्रत धार्मिक आस्थासँग जोडिएको भए पनि आफ्नो स्वास्थ्य अवस्थालाई बेवास्ता नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् । विशेषगरी निराहार व्रत बस्दा शरीरमा पानी तथा ग्लुकोजको मात्रा कम भएर कमजोरी, चक्कर लाग्ने, बेहोस हुने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र व्रत बस्न चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था कमजोर भएका, दीर्घरोगी, गर्भवती तथा नियमित औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकीय सल्लाहलाई प्राथमिकता दिनुपर्छ ।

धर्मशास्त्रीय मान्यताअनुसार पनि व्रतको उद्देश्य शरीरलाई कष्ट दिनुभन्दा श्रद्धा र आत्मसंयमसँग जोडिएको मानिन्छ । त्यसैले निराहार बस्न नसक्नेले जलाहार वा फलाहारका माध्यमबाट पनि व्रतको धार्मिक भावना कायम राख्न सक्ने विश्वास छ । स्वास्थ्यअनुसार फलफूल, पानी तथा आवश्यक पौष्टिक आहार लिएर संयमित रूपमा पर्व मनाउन सकिन्छ ।

 

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार