Chauthoanga
२०८३ भदौ २८ , आइतबार

दर खाएर आजदेखि सुरु हुँदै तीज पर्व



नेपाली महिलाको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन माइती तथा दाजुभाइले चेलीबेटी, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्पराअनुसार आज साँझ दर खाने तयारी गरिएको हो। दर खाएपछि भोलिपल्ट भाद्र शुक्ल तृतीयाका दिन महिलाहरूले हरितालिका तीजको व्रत बस्नेछन्।

तीजको व्रत निराहार बस्ने परम्परा रहेकाले व्रतालुले व्रतका लागि आवश्यक शक्ति प्राप्त गर्न अघिल्लो दिन दर खाने धार्मिक तथा सांस्कृतिक मान्यता छ। धर्मशास्त्रविद्हरूका अनुसार दर विशेषगरी भाद्र शुक्ल द्वितीयाको बेलुकी दुई प्रहर रात बाँकी रहँदा खानुपर्ने शास्त्रीय विधान छ। दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायतका आडिला खाद्य पदार्थ दरका रूपमा खाने प्रचलन छ।

तीज नेपाली महिलाले आफ्ना सुख–दुःख, पीरमर्का र सामाजिक अनुभव अभिव्यक्त गर्ने पर्वका रूपमा समेत स्थापित छ। विशेषगरी तीजका गीतमार्फत महिलाले जन्मघर छाडेर कर्मघर पुगेपछि भोगेका दुःख, पारिवारिक अवस्था तथा सामाजिक विभेदका विषय सार्वजनिक रूपमा प्रस्तुत गर्दै आएका छन्। यस अवसरमा माइती–चेलीको भेटघाट तथा पुराना साथीभाइ र इष्टमित्रसँगको पुनर्मिलनले पर्वको सामाजिक पक्षलाई थप बलियो बनाउने गरेको छ।

यद्यपि पछिल्ला वर्षमा तीजको नाममा बढ्दो तडकभडक र प्रदर्शनप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। एक महिनाअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र सरकारी कार्यालयसमेत लामो समयसम्म तीज कार्यक्रम गर्ने प्रवृत्तिले पर्वको मौलिकता कमजोर बनाउँदै गएको उनीहरूको भनाइ छ। आर्थिक अवस्था कमजोर भएका परिवारमा यस्ता गतिविधिले सामाजिक दबाब र हीनभावना बढाउन सक्ने भन्दै तीजलाई सरल र मौलिक रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ।

दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म चार दिन मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत तथा शिव–पार्वतीको पूजा गरिन्छ भने चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने धार्मिक परम्परा छ।

पौराणिक मान्यताअनुसार हिमालय पुत्री पार्वतीले भगवान् महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पार्वतीका साथीहरूले उनलाई हरण गरी सुरक्षित स्थानमा लगेर राखेपछि उनले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको कथासँग हरितालिका तीज जोडिएको पाइन्छ। यही धार्मिक विश्वासका आधारमा तीजमा महिलाहरूले शिव–पार्वतीको पूजा तथा व्रत गर्ने परम्परा रहँदै आएको छ।

तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ। पछिल्लो समय तीज नेपालबाहिर समेत फैलिँदै गएको छ भने सञ्चारमाध्यम र सामाजिक सञ्जालले यसको प्रचार–प्रसारलाई थप व्यापक बनाएका छन्।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार