रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ७३४ जनाको शव फेला परेको छ। विपद् व्यवस्थापनसम्बन्धी प्राधिकरणको रिपोर्टअनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका हुन्।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २५९ जना छन्। नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको रिपोर्टमा उल्लेख छ।
बाढीपछि अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये विभिन्न सुरक्षा निकायका ८५ जना छन्। जसमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना रहेका छन्।
त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदारसमेत सम्पर्कविहीन भएको जनाइएको छ। सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी पनि छन्।
स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्। विपद्पछि उद्धार तथा राहतका लागि देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ।




प्रतिक्रिया दिनुहोस्