Chauthoanga
२०८३ साउन २५ , सोमबार

साउनको अन्तिम सोमबार देशभरका शिवालयमा श्रद्धालुको घुइँचो



साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथसहित विभिन्न प्रमुख शिवालयमा बिहानैदेखि पूजा, आराधना र जल चढाउने श्रद्धालुको भीड बढेको छ। साउन महिनामा पवित्र नदी तथा तालबाट जल ल्याएर शिवलिङ्गमा चढाउने तथा बोलबम यात्रा गर्ने धार्मिक परम्पराअनुसार सोमबार देशभरका शिवालयमा भक्तजन पुगेका छन्।

विशेषगरी बोलबम श्रद्धालुले काठमाडौँको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने गरेका छन्। साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ क्षेत्रमा अन्य दिनको तुलनामा श्रद्धालुको उपस्थिति उल्लेख्य रहेको छ। देशका विभिन्न स्थानमा पनि बोलबम मेला तथा धार्मिक गतिविधि सञ्चालन भइरहेका छन्।

संस्कृतिविद् गोविन्द टण्डनका अनुसार साउन महिना धार्मिक, प्राकृतिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। हिन्दु धार्मिक परम्परामा साउनका सोमबार भगवान् शिवको व्रत तथा पूजा गर्ने चलन रहेको उहाँ बताउनुहुन्छ। पार्वतीले साउन महिनामा कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथनका कारण विशेषगरी हिन्दु महिलाले साउनलाई महत्व दिने गरेको धार्मिक विश्वास छ।

साउनका सोमबार व्रत बसेर शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान तथा परिवारको कल्याण हुने विश्वास रहिआएको छ। हिन्दु धार्मिक परम्परामा साउने सोमबार, १६ सोमबार र सोम प्रदोष गरी प्रमुख तीन प्रकारका व्रतको चर्चा पाइन्छ। साउनका सोमबार व्रत, दान तथा पूजापाठ गर्दा अन्य समयको तुलनामा बढी धार्मिक फल प्राप्त हुने विश्वाससमेत रहेको छ।

पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर र जलेश्वरको शिरेश्वरलगायत शिवालयमा पनि श्रद्धालुको चहलपहल बढेको छ। चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाममा समेत पूजा तथा बोलबम मेला भर्न श्रद्धालु पुगेका छन्।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार