Chauthoanga
२०८३ साउन १५ , शुक्रबार

सुनसरीलगायत केही जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयम अपनाउन तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन संयुक्त अपिल गरेका छन्।

शुक्रबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै उत्तेजनात्मक, घृणात्मक वा हिंसालाई बढावा दिने गतिविधिबाट टाढा रहन आग्रह गरेका हुन्।

विज्ञप्तिमा विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै सबै नागरिकलाई शान्त, संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न अनुरोध गरिएको छ।

संयुक्त विज्ञप्तिमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराम फुंयाल, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी तथा अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीको हस्ताक्षर रहेको छ।

धार्मिक अगुवाहरूले सबै धर्मको मूल भावना मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचाराको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्म मान्ने व्यक्तिमाथि विभेद वा उचनिच गर्न नहुने बताएका छन्।

उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार