Chauthoanga
२०८३ साउन ११ , सोमबार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, तीन महिना परीक्षण सञ्चालनपछि सर्वसाधारणका सवारी खुला गरिने



नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। प्रारम्भिक तीन महिनाको परीक्षण अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालनको अनुमति दिइनेछ। सुरक्षा तथा ट्राफिक व्यवस्थापनको मूल्याङ्कनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने योजना रहेको उहाँले जानकारी दिनुभयो।

आयोजनाले परीक्षण अवधिभर कुनै पनि शुल्क नलिने जनाएको छ। नियमित सञ्चालनपछि भने कार, भ्यान, मिनीबस, ट्रक तथा बसलगायत सवारीसाधनबाट सरकारले निर्धारण गरेअनुसार शुल्क असुल गरिनेछ। पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे तथा प्रज्ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ।

करिब ८० महिनापछि सञ्चालनमा आएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। आयोजनाअन्तर्गत निर्माण, विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धि, साथै जग्गा अधिग्रहण र मुआब्जा शीर्षकमा उल्लेखनीय खर्च भएको आयोजना कार्यालयले जनाएको छ।

काठमाडौंको चन्द्रागिरि–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसीस्थित सिस्नेखोलासम्म फैलिएको सुरुङमार्गले नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटोको विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। यसबाट यात्राको समय करिब एक घण्टासम्म बचत हुने विश्वास गरिएको छ।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो। निर्धारित ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी र प्राविधिक जटिलताका कारण आयोजना ढिलो सम्पन्न भएको हो। सुरुङमार्गको सञ्चालनलाई नेपालको आधुनिक यातायात पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार