Chauthoanga
२०८३ साउन ११ , सोमबार

कंगोमा इबोला प्रकोप भयावह : मृतक १ हजार ३०९ नाघे, नियन्त्रण चुनौतीपूर्ण



प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप तीव्र बन्दै जाँदा मृत्यु हुनेको संख्या १ हजार ३०९ नाघेको छ। सरकारी अद्यावधिक तथ्याङ्कअनुसार बिहीबारसम्म पुष्टि भएका संक्रमित तथा मृतकसहित कुल संक्रमितको संख्या २ हजार ९७३ पुगेको छ, जुन अघिल्लो साताको तुलनामा २७ प्रतिशतले बढी हो। स्वास्थ्य विज्ञहरूले यसलाई हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोपका रूपमा व्याख्या गरेका छन्।

यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रकारको इबोला भाइरसका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध नभएकाले जोखिम अझ बढेको जनाइएको छ। अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का संस्थापक सहयोगी जनस्वास्थ्य परामर्शदाता अब्दुलसलामी नासिदीले यो भाइरस प्रमाणित खोपको अभावमा “डढेलोझैँ फैलिरहेको” बताउनुभएको छ। उहाँका अनुसार सक्रिय द्वन्द्वग्रस्त क्षेत्रमा महामारी फैलिएकाले नियन्त्रण प्रयास थप जटिल बनेको छ।

यसैबीच वैज्ञानिकहरूले खोप विकासलाई तीव्रता दिएका छन्। अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन ग्रुपका अनुसार प्रयोगात्मक खोपको पहिलो मात्रा एक स्वयंसेवकलाई दिइएको छ। प्रमुख अनुसन्धानकर्ता क्याट्रिना पोलकले यसलाई बुन्डिबुग्यो इबोला विरुद्धको खोप विकासमा महत्त्वपूर्ण उपलब्धि बताउनुभएको छ।

सन् २०१३–२०१६ को पश्चिम अफ्रिकाली इबोला महामारीमा पहिलो १ हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो। तर कंगोको पछिल्लो प्रकोपमा १० हप्ताभन्दा कम अवधिमै त्यति धेरै मृत्यु भइसकेकाले यसको गम्भीरता झन् स्पष्ट भएको छ। अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेयाले तत्काल प्रभावकारी कदम नचालिए यो विश्वकै सबैभन्दा भयावह महामारी बन्न सक्ने चेतावनी दिनुभएको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार