Chauthoanga
२०८३ साउन ११ , सोमबार

नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु



पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट नगरपालिका–१२ मा बसोबास गर्दै आउनुभएकी ३८ वर्षीया कविता राई तथा भोजपुर घर भई गैंडाकोट–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहनुभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो स्थानीयवासीले अकलामाई मन्दिर नजिक दुवै महिलालाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल भेँडाबारी पुर्‍याएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले दुवै महिलालाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घटनाको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। घटनास्थल तथा अन्य आवश्यक पक्षहरूको अनुसन्धान भइरहेको र मृत्युको कारण पोस्टमार्टम प्रतिवेदन तथा अनुसन्धानबाट मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार