Chauthoanga
२०८३ साउन ११ , सोमबार

धनगढीमा आत्मदाह प्रयास गरेकी ज्योति चौधरीको निधन



कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको उपचारका क्रममा निधन भएको छ। आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएकी चौधरीको काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ घरभित्रै आगो लगाउनुभएको थियो। घटनालगत्तै आफन्तले उद्धार गरी उहाँलाई सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। चिकित्सकहरूका अनुसार उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

गम्भीर अवस्थाकी चौधरीलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको भए पनि आफन्तले काठमाडौँ लैजाने निर्णय गर्नुभएको थियो। आइतबार राति बाटोमै उहाँको निधन भएको हो। घटनाबारे परिवारले सोमबार बिहान ७ बजे प्रहरीलाई जानकारी गराएका थिए।

हाल उहाँको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ। ३५ वर्षीया चौधरीले यस्तो अप्रत्याशित कदम किन चाल्नुभयो भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको जनाएको छ।

आत्मदाह वा आत्महत्याका पछाडि पारिवारिक, मानसिक वा सामाजिक तनाव मुख्य कारण हुने भएकाले यस्ता घटना रोक्न परिवार र समाजभित्र खुला संवाद एवं समयमै मानसिक स्वास्थ्य परामर्शको पहल हुनु अत्यावश्यक देखिन्छ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार