लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालको आह्वानमा देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरूले आइतबार रत्नपार्कस्थित शान्तिबाटिकामा धर्ना तथा कोणसभा गर्दै आफूहरूमाथि भएको वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले अत्यधिक ब्याज, कर्जा असुलीको दबाब, सम्पत्ति लिलामीको चेतावनी तथा सामाजिक–आर्थिक संकटबाट मुक्त गराउन प्रभावकारी हस्तक्षेपको माग गरेका हुन्।
आन्दोलनमा सहभागी पीडितहरूका अनुसार उनीहरू पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाबाट शनिबार राति काठमाडौं आइपुगेका थिए। आयोजकका अनुसार बल्खुबाट पैदल मार्च गर्दै शान्तिबाटिका पुगेका उनीहरूले सुरुमा भद्रकाली क्षेत्रमा कार्यक्रम गर्ने योजना बनाएको भए पनि विभिन्न कारणले स्थान परिवर्तन गरिएको थियो।
धर्नास्थलमा सहभागी रविदा खातूनले रातभर यात्रापछि पर्याप्त भोजनसमेत गर्न नपाएको उल्लेख गर्दै न्याय प्राप्तिका लागि कठिन परिस्थिति सहन तयार रहेको बताउनुभयो। आन्दोलनकी अभियन्ता लक्ष्मी घिमिरेले लघुवित्त पीडितहरूको आवाज राज्यका सम्बन्धित निकायसम्म पुर्याउन आन्दोलनलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
धनुषाकी रीनादेवी मण्डलले छोरीको विवाहका लागि चार वर्षअघि लिएको चार लाख रुपैयाँ कर्जाको साँवा र ब्याज नियमित तिर्दा पनि अहिले लघुवित्त संस्थाले चार लाख ७० हजार रुपैयाँ बाँकी देखाएको दाबी गर्नुभयो। उहाँका अनुसार बचत खातामा रहेको ८० हजार रुपैयाँसमेत कट्टा गरिएको छ भने खेत लिलामी गर्ने चेतावनीपत्र प्राप्त भएको छ।
त्यस्तै, महोत्तरीकी ७० वर्षीया दोहरा खातुनले घर निर्माण, छोरीको विवाहलगायतका आवश्यकताका लागि लिएको ऋण उच्च ब्याजका कारण बढ्दै जाँदा १२ कठ्ठा जग्गा गुमाउनुपरेको बताउनुभयो। उहाँले ऋणको दबाबका कारण परिवार विस्थापित भएको, उपचार गराइरहेका छोराको औषधि खर्चसमेत जुटाउन नसकिएको तथा निरन्तर धम्की र मानसिक तनाव खेप्नुपरेको गुनासो गर्नुभयो।
लघुवित्त पीडितहरूले अत्यधिक ब्याजदर नियन्त्रण, ऋण पुनर्संरचना, असुली प्रक्रियामा सुधार तथा पीडितहरूको समस्या समाधानका लागि सरकारले शीघ्र संवाद र नीतिगत हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्। यद्यपि, सम्बन्धित लघुवित्त संस्था वा सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार












प्रतिक्रिया दिनुहोस्