Chauthoanga
२०८३ साउन ७ , बिहीबार

दाङमा एक वर्षमा ३४७ सवारी दुर्घटना, ७२ जनाको मृत्यु



दाङ जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा भएका ३४७ वटा सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काका अनुसार मृत्यु हुनेमध्ये ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेका छन्। दुर्घटनामा १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै २८१ वटा मोटरसाइकल दुर्घटना भएका छन्। तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, चालकको लापरबाही, सडकको कमजोर अवस्था तथा सवारीसाधनमा देखिने यान्त्रिक गडबडी दुर्घटनाका मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ।

दाङमा भएका केही पछिल्ला दुर्घटनाले पनि सडक सुरक्षाप्रति गम्भीर चुनौती रहेको देखाएको छ। गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनास्थित चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९ की ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भएको थियो। त्यसअघि चैत ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा भएको अर्को सवारी दुर्घटनामा स्थानीय ४२ वर्षीय भानु रिजालको घटनास्थलमै मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानअनुसार ती दुवै दुर्घटनामा चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको निष्कर्ष निकालिएको छ। प्रहरीका अनुसार यी घटना जिल्लामा भइरहेका सडक दुर्घटनाका प्रतिनिधिमूलक उदाहरण हुन्।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न विद्यालय, समुदाय तथा सार्वजनिक स्थलमा सडक सुरक्षा र ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। चालकलाई ट्राफिक नियमको पालना गर्न, तोकिएको गतिमा सवारी चलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सवारीको नियमित प्राविधिक परीक्षण गर्न आग्रह गरिएको छ।

प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन चालक, यात्रु, स्थानीय तह तथा सरोकारवाला सबै पक्षको समान जिम्मेवारी आवश्यक रहेको बताउँदै ट्राफिक नियमको पूर्ण पालना नै दुर्घटना न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार