Chauthoanga
२०८३ साउन ५ , मंगलबार

सक्कली बिल लिने उपभोक्तालाई दैनिक र मासिक नगद पुरस्कार, सरकारको नयाँ योजना



काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन तथा उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहन गर्न नगद पुरस्कार योजना सञ्चालन गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट सक्कली बिल लिने नेपाली नागरिकहरू यस योजनामा सहभागी हुन सक्नेछन्।

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने नारासहित ल्याइएको योजनाअन्तर्गत १०० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टबाट सेवा लिएपछि प्राप्त हुने आधिकारिक बिल नम्बर नै पुरस्कार छनोटको आधार हुनेछ।

मन्त्रालयका अनुसार उपभोक्ताले नगद वा विद्युतीय (अनलाइन) माध्यमबाट भुक्तानी गरी आधिकारिक बिल लिनुपर्नेछ। त्यसरी प्राप्त बिल नम्बरका आधारमा छनोट भएका सहभागीमध्ये हरेक दिन एक जना नेपाली नागरिकलाई नगद पुरस्कार प्रदान गरी ‘लखपति’ बनाइनेछ। साथै, हरेक महिना दुई जनालाई बम्पर पुरस्कारस्वरूप जनही १० लाख रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।

पुरस्कार विजेताको घोषणा प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा गरिने अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको यो कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार भइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। सरकारको अपेक्षा अनुसार यस योजनाले सक्कली बिल लिने बानीको विकास, कर छलि नियन्त्रण तथा राजस्व संकलनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। करदाता-प्रोत्साहन-उपहार-कार्यक्रम-सञ्चालन-कार्यविधि,-२०८३-1784600774

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार