कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका सम्पर्कविहीन सबै महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्। निकुञ्जभित्र बाटो बिर्सिएर सम्पर्कविहीन भएका महिलाहरू सोमबार मध्याह्नसम्म परिवारको सम्पर्कमा आएपछि खोजी तथा उद्धार कार्य सम्पन्न भएको हो। भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब १२ः१५ बजे सम्पर्कविहीन महिलाहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलभित्र च्याउ खोज्दै जाँदा बाटो बिर्सिएका कारण सम्पर्कविहीन भएको बताएका छन्।
महिलाहरू सुरक्षित रूपमा फर्किएपछि उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त नगरपालिका–१९ को बागफाँटा पुगेको छ। स्थानीय प्रशासनले सबै महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि सम्पर्कविहीन भएका महिलाहरू परिवारको सम्पर्कमा आएको र उनीहरू सबै सकुशल रहेको पुष्टि गरेका छन्।
यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई नेपाली सेनाको रणसिंह दल गणका सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहान सकुशल उद्धार गरेको थियो। उद्धारपछि उनीहरूलाई परिवारको जिम्मा लगाइएको थियो।
प्राप्त जानकारीअनुसार आइतबार बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका विभिन्न तीन समूहका महिलाहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासन संयुक्त रूपमा खोजी तथा उद्धार अभियानमा परिचालित भएका थिए।
खोजी अभियानका क्रममा सम्पर्कविहीन सबै महिला सकुशल फेला परेपछि उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको छ। प्रारम्भिक जानकारीअनुसार महिलाहरू निकुञ्जभित्र च्याउ खोज्ने क्रममा जंगलको बाटो बिर्सिएका कारण सम्पर्कविहीन भएका थिए।










प्रतिक्रिया दिनुहोस्