कञ्चनपुरमा च्याउ खोज्न जंगल पसेका १४ जना महिला आइतबारदेखि सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका ती महिलाको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको भए पनि सोमबारसम्म उनीहरूको अवस्था खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार सम्पर्कविहीन महिलाको खोजी कार्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रित गरिएको छ। आइतबार बिहान च्याउ खोज्न जंगल गएका उनीहरू साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका थिए।
स्थानीयका अनुसार ती महिलाहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्ट हुँदै निकुञ्जभित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले मोबाइल फोन साथमा नलगेकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। खोजी अभियानमा प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको जनाइएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वन क्षेत्र घना तथा फराकिलो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको सुरक्षा निकायले जनाएको छ। यद्यपि सम्पर्कविहीन महिलाहरूको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।










प्रतिक्रिया दिनुहोस्