काठमाडौँ - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताले परिवर्तनको अनुभूत गर्ने गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तन र उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
उहाँले सामाजिक आर्थिक रूपान्तरणसहितको विकास र समृद्धितर्फ उन्मुख हुनुपर्ने बताउनुहुँदै प्रतिगमनकारीहरूलाई परास्त गर्न र परिवर्तनको रक्षामा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले सरकार र गृह मन्त्रालयलाई जनमुखी बनाउन आफ्नो प्रयास रहेको र त्यस क्रममा वस्तुनिष्ठ र तथ्यका आधारमा आलोचनासहितको सुझाव स्वीकार गर्न आफु तयार रहेको पनि बताउनुभयो ।
उहाँले पत्रकारितालाई मर्यादित बनाउँदै पत्रकारले निष्ठा र तथ्यको नजिकमा रहेर आफ्नो भूमिका निर्वाह गर्नसके मुलुकले सही दिशा समात्न सहयोग पुग्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पत्रकारका मुद्दाहरू महत्त्वपूर्ण रहेको भन्दै जनमुखी पत्रकारितामा आफूलाई अब्बल सावित गर्न आग्रह गर्नुभयो ।
उहाँले तथ्य, प्रमाण र मुलुकको सर्वोपरि हितमा पत्रकारिता जगतलाई उभ्याउँदै जनताका मुद्दालाई समाचार बनाउनुपर्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज महेश्वर दाहालले सार्वभौमसत्ता, भाषा र संस्कृति बचाउने राज्यको दायित्व भएको बताउनुभयो ।
उहाँले अहिले बिचौलियाहरू जताततै सलबलाइरहेको र कर्पोरेट संस्थाहरूको दबाब बढ्दै गएको भन्दै कर्पोरेट पुँजी र संस्कृति तोड्ने चुनौती थपिएको औँल्याउनुभयो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगलले’ जनपक्षीय पत्रकारिता र सर्वहारा पार्टीको मुद्दालाई स्थापित गर्नु अहिलेको मुख्य काम भएको बताउनुभयो ।
उहाँले पेशागत र संस्थागत हिसाबले सङ्गठन सुदृढीकरण र शुद्धीकरण पनि आन्दोलनकै रूप भएको बताउँदै पेशागत सुरक्षाको मुद्दामा केन्द्रित भएर निर्मम समीक्षा गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सञ्चारमाध्यम जटिल अवस्थामा पुगेको भन्दै समग्र पत्रकारमाथि उठेका प्रश्नको सत्य, तथ्य र बस्तुनिष्ठ आधारमा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।