Chauthoanga - Nepali News Media
सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
pratinidhi-sava-2080-1-5-1024x683.jpg

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरूले बाल विकास शिक्षकका समस्या समाधान गरी सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकको शून्य समय तथा विशेष समयमा बोल्ने सांसदहरुले फर्निचर सामग्रीको आयात निरुत्साहित गरी स्वदेशी काठको खपत बढाउन तथा नेपालको सबै भू–भागमा विद्युत् पुर्‍याएपछि मात्रै विद्युत् निर्यात गर्न पनि माग गर्नुभयो । 

यस्तै, सांसदहरुले नागरिकता सम्बन्धी ऐनबारे छिटो निर्णय गरी नागरिकता पाउनबाट वञ्चितका समस्या समाधान गर्न, लागि खेती लगाउने समय सुरु हुनु अगाडि नै किसानलाई आवश्यक मल बिउ उपलब्ध गराउन, बन्द उद्योग तथा कलकारखानाहरू पुनः सञ्चालन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा देशको आर्थिक सङ्कट समाधान गर्न तथा बुढी गण्डकीलगायत राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्यलाई गति दिन आगामी बजेटबारे समयमै छलफल सुरु गर्न समेत सांसदहरुले माग गर्नुभयो । 

आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा बोल्ने क्रम जारी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको