काठमाडौँ — बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको सरकार र प्रतिपक्ष दलका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बैठकले संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी भएको छ ।
संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा विधेयक टुंगो लगाउन नेताबीच समझदारी भएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । विषय र प्रक्रियामा थप छलफलका लागि अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने उहाले बताउनुभयो ।
मंगलबार बिहानको छलफलमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको हो ।बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु सहभागी हुनुभएको थियो ।
बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी हुनुभएको थियो।यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी हुनुभएको थियो ।