कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा कृषकले पालेका पशुचौपायामा (लम्फि स्किन डिजिज ) छालामा संक्रमण हुने रोग फैलिएको छ । बंगलाचुली गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७ र ८ मा बढी मात्रामा योरोग देखा परेको छ । रोगका कारण बंगलाचुली ७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नम्बर ८ पाँचपोखरीका तिलकराम घर्ती मगर, गोठीवनका गुमानसिंह घर्ती मगरका गाई र गोरु बिरामी परेका छन् । उहाँहरुको जस्तै पालिकाका करीव २ सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन्
पालिकाको वडा नम्बर ५ मुर्कुटीका नरबहादुर महरा, डम्मरबहादुर खत्री, यमबहादुर खत्रीलगायत स्थानीय दर्जनौँ किसानको गोठमा रोगले पशुलाई ग्रस्त पारेको छ ।
रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुने गरेको छ । उपचारमा खटिनुभएका बंगलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले प्राविधिकसहितको टोलीले उपचार गरिरहेको हूँदा अहिले प्रकोप कम हुँदै गएको बताउनुभयो
गाई,गोरु र भैसी भैसीमा फैलिएको रोगको नमुना परिक्षणका लागि प्रयोगशालामा पठाईएको छ ।यो रोग लम्पी स्किन डिजिज भाइरस बाट गाईभैँसीमा लाग्छ । यो पक्सविरिडेइ परिवारको डीएनए भाइरस हो । यो रोग नेपालको झापा, मोरङ, सुन्सरी, रौतहट, मकवानपुर, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की र काठमाण्डौँ उपत्यकामा यो भन्दा पहिला फैलिएको थियो।
लम्पी स्किन डिजिज अफ्रिकी राष्ट्रबाट सन् २०१२ बाट मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रुस र कजाकास्तानमा फैलिएर सन् २०१९ मा बंगलादेश, भारत र चीनमा देखिएको थियो । नेपालमा सन् २०२० जुलाइ मा प्रयोगशालाबाट परीक्षण गरी लम्पी स्किन डिजिज रोग पत्ता लागेको थियो । भेक्टरबाट सर्ने यो रोगको प्रकोप मनसुन, गर्मी मौसममा बढी फैलने भएको हुँदा पशु स्वास्थ्य विशेषज्ञहरुले विशेष सतर्कता अपनाउन कृषकहरुलाई सुझाव दिएका छन् ।
लम्फि स्किन रोग लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन्। यसको अलावा रोगी पशुहरुको सिंगान, दूध, र घाउबाट निस्केको पीप, रगत, जस्ता जैविक रसहरुको प्रत्यक्ष संसर्गबाट पनि यो रोग सर्न सक्छ।यो रोगका लक्षणहरु साधारण र हल्का रुपका देखि निकै कडा खालको पनि देखिन सक्छ। साना पशुहरुमा यो रोग कडारुपमा लाग्दछ भने वयस्क पशुहरुमा साधारण लक्षणहरु देखिन सक्छन। रोगी पशुहरुमा १०४-१०५ डिग्री फरेनहाईट ज्वरो आउने, घाँस खान अरुचि हुने र झोक्राउने लक्षण देखिन्छ। त्यसको २-३ दिनमा पशुको शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिन शुरू गर्छ। यस्ता गिर्खा र गाँठाहरूमा पिप जम्मा भई यो घाउमा परिणत हुन्छ र यसमा जिवाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जान्छ। बिस्तारै शरीरका भित्री अङ्गहरु जस्तै: पेट, फोक्सो, श्वासनलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया हुन्छ।
खुट्टा र शरीरको तल्लो भागमा भएका यस्ता संक्रमणले गर्दा पशुहरू हिड्न नसक्ने भई बसिरहने हुनसक्छ जसले गर्दा समस्या झनै विकराल बन्दै जान्छ। थुन र कल्चौंडोमा भएका यस्ता गिर्खा र गाँठाहरुमा जिवाणुजन्य संक्रमण हुन गएमा थुनेलो हुने देखि थुन नै झर्ने सम्म हुनसक्छ। कुनै पशुहरुमा गर्भ तुहिने, पाठेघरमा समस्या देखिने र गर्भ नअडिने समस्या पनि देखिनुका साथै बाँझोपन पनि हुन्छ। यसको उपमचारका लागि पशुचौपायालाई ज्वरो आएमा एन्टिपाइरेटिक औषधि (ज्वरो घटाउन) दिनुपर्छ । दोस्रो ब्याक्टेरियल संक्रमण रोग एन्टिवायटिक्स दिन सकिन्छ । रोग नियन्त्रणकाका लागि गोठमा जैविक सुरक्षा अवलम्बन गर्ने ।लामखुट्टे, किर्ना, डाँस, झिङ्गा न्यूनीकरण गर्न सरसफाइ गर्ने, नजिकै पानी जम्ने खाल्डो छोप्ने वा पुर्ने गर्नुपर्छ । लाइभ एटेन्युएटेड होमोलोगस निथलिङ स्ट्रेनको खोप ४ महिना वा बढी उमेरको गाई भैँसीमा खोप लगाउने । खोप लगाउन पूर्व रोग नलागेको क्षेत्रमा क्लिनिकल परीक्षण गरेरमात्र खोप लगाउने ।
सिप पक्स १० गाई भैँसीमा लगाउन सकिन्छ । गोटपक्स पनि लगाउन सकिन्छ । तर नेपालमा यो खोप लगाउन उक्त रोगहरु महामारी नभएकोले गर्दा नलगाउने रणनीति छ । पशु क्वारिन्टन सेवा मजबुत पार्ने पशु ढुवानी गर्दा पशु स्वास्थ्य प्रमाणपत्र र रोग नदेखिएको क्षेत्रबाट मात्र गर्ने ।
मरेको पशुलाई खाल्डोमा गाडी माथिबाट चुन छर्कने । सरसफाइ र गोठलाई निसंक्रमित गरी पुनः पशु गोठमा राख्ने । पशुमा तथा फार्ममा भेक्टर कन्ट्रोल गर्न उपयुक्त रणनीति अवलम्बन गर्ने । काँचो छाला तथा वीर्यबाट रोग सर्ने हुँदा यस्तो पदार्थ लम्पी स्किन मुक्त राष्ट्रबाट मात्र आयात गर्ने ।