Chauthoanga - Nepali News Media
बुहारी ल्याएर छोरी अन्माउँँदा...

तुलसीपुर - आरतीकी आमाले गत बिहीवार छोरीलाई दोस्रो पटक अन्माउनुभयो । पहिले आफ्नै घर प्रतापपुर-१ गोपीगञ्ज पूर्वनवलपरासीबाट र अहिले ज्वाइॅँको घर तुलसीपुर-६ दाङबाट । सातवर्ष अघि उहाँले छोरीको बिहे तुलसीपुरका सुविन श्रेष्ठसँग गरिदिनुभएको थियो । पाँच वर्षअघि सुविनको निधन भयो । त्यसयता एकल जीवन बिताएकी छोरीलाई ज्वाइँ सुविनकै परिवारले अन्माएर पठाउने निणर्यले भने उहाँलाई दंग बनायो र लाग्यो हाम्रो समाजमा पनि छोरी र बुहारीलाई उस्तै देख्ने दिन आएछ ।

आरतीकी आमा भन्नुहुन्छ- ‘यस्तो घरपरिवार सबै छोरीलाई मिल्दैन । मैले यो परिवारलाई छोरीको घर भनुँ कि माइती ? एउटा माइतीलेभन्दा बढी जिम्मेवारी र आफ्नोपनको आभाष दिनुभयो ।’ सुविन र आरती केही वर्षदेखि प्रेममा थिए । उनीहरुको विवाह हुनु एक वर्षअघि थाहा भयो- सुविनलाई क्यान्सर रोग लागेको छ । श्रेष्ठ परिवारले देश/विदेशका अस्पतालहरु धायो । मासिक १ देखि डेढलाखसम्म खर्च हुने तर सुविनको सामान्यतया मानिसको जस्तै आयु हुने डाक्टरले सल्लाह दिए । डाक्टरको सल्लाहअनुसार नै सुविन र आरतीको परिवार विवाहका लागि राजी भयो । उनीहरुको प्रेम सम्बन्ध दुबै परिवारको सहमतिमा २०७२ वैशाखमा विवाहमा परिणत भयो तर विवाहको ढाई वर्षभित्रै २०७४ कार्तिकमा ३१ वर्षकै उमेरमा सुविनको निधन भयो । त्यसपछि श्रेष्ठ परिवारले आरतीलाई स्टाफ नर्स पढाएर विदेश पठाउने निणर्य गर्‍यो । उनले स्टाफ नर्स पढिन् तर विदेश जान मानिनन् । परिवारका अनुसार आरतीले आफू बुवाआमाको साथमै बस्ने बताइन् ।

आरतीको विवाहपछि भने उहाँहरुको अनुहारमा केही खुशी र केही दुःखका विम्बहरु स्पष्ट देखिन्छन् । कुराकानीमै सुविनका बुवा शिव श्रेष्ठले केही विगत र वर्तमान नियाल्नुभयो । ‘हाम्रो एकमात्र सन्तान थिए, सुविन । उनले विवाह गरेपछि हाम्रा दुई सन्तान भए एउटा छोरा र एउटा छोरी । सुविन र आरती । हाम्रो सानो र सुखी परिवार नै थियो तर त्यो खुशी लामो समय टिकेन । विवाह भएको ढाई वर्षमै सुविनले हामीलाई छोडेर गए । त्यसपछि हाम्रो सन्तान, सहारा जे भने पनि आरती मात्र भइन् । र आजसम्म पनि एक सन्तानले अभिभावकलाई दिने मायामा कुनै कमी गरिनन्’- उहाँ भन्नुहुन्छ- ‘अहिले आरतीलाई अन्माएर पठाउन पाउँदा असाध्यै खुशी छौं । एक बाबुआमाका लागि छोरीलाई आफ्नै हातले अन्माएर पठाउन पाउनु सबैभन्दा सौभाग्यको कुरा हो तर छोरीलाई विवाह गरेर पराइ घरमा पठाउँदाको पीडा पनि उत्तिकै छ । आरती अब आफ्नो घरमा बस्नुपर्छ, पहिलेजस्तो हरेक समय हामीसँग हुँदैनिन्, थाहा छ । उनको अभाव त हामीलाई खड्किरहनेछ ।’ कुरा गर्दागर्दै मन पग्लिएर आँखाबाट आँसु बगेको पत्तै भएन उहाँलाई ।

केही समय अघिदेखि आरती बर्दघाट नगरपालिका-५ पालडाँडाका चन्दनध्वज केसीसँग प्रेम सम्बन्धमा थिइन् तर विवाह गर्न मानेकी थिइनन् । गत असारमा चन्दनध्वज आफ्नो परिवारसहित श्रेष्ठको घरमा आरतीलाई माग्न आए । त्यसपछि श्रेष्ठ परिवारले बुहारीको माइतीमा खबर गरे, आरतीको सिंगो जीवन बाँकी रहेकोले आफूहरुले उनको विवाह गर्दिनुपर्ने कुरा राखे । माइती पक्षबाट पनि प्रस्ताव स्वीकार भयो र गत असारमा ‘इङ्गेजमेन्ट’ भयो । आरतीकी सासु विना श्रेष्ठ भन्नुहुन्छ- ‘छोरा गुमाएपछि नै आरतीको लागि उपयुक्त केटा खोजेर उनको विहे गर्दिने सोचेका थियौं । अहिले हामीले खोजेको जस्तै ज्वाइँ पायौं । आरतीले हामीलाई छोडेर जान मानेकी थिइनन् तर हामीले धेरै सम्झायौं, पछि हाम्रो कुरा काट्न सकिनन् र विवाहका लागि राजी भइन् । असारमै बिहे गर्दिने सोचेका थियौं तर उनको पढाइ नसकिएकोले विवाह गर्ने वातावरण बनेकोे थिएन, अहिले उनी स्टाफ नर्स भइसकिन, विवाह पनि भयो । उनको बाँकी जीवन सुखमय बनोस्, यत्ति हाम्रो चाहना हो ।’

आरतीको लागि उपयुक्त केटा खोजेर उनको विहे गर्दिने सोचेका थियौं । अहिले हामीले खोजेको जस्तै ज्वाइँ पायौं । आरतीले हामीलाई छोडेर जान मानेकी थिइनन् तर हामीले धेरै सम्झायौं, पछि हाम्रो कुरा काट्न सकिनन् र विवाहका लागि राजी भइन् । असारमै बिहे गर्दिने सोचेका थियौं तर उनको पढाइ नसकिएकोले विवाह गर्ने वातावरण बनेकोे थिएन, अहिले उनी स्टाफ नर्स भइसकिन, विवाह पनि भयो । उनको बाँकी जीवन सुखमय बनोस्, यत्ति हाम्रो चाहना हो ।’ नयाँयुगबोध दैनिक बाट 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको