Chauthoanga - Nepali News Media
जनता हिड्ने सडक कालोपत्रे गराउन दवाव दिँदा बंगलाचुली गाउँपालिका अध्यक्ष पुनलाई मुद्दा
तुल्सीराम पुन मगर (शुवास).jpg

कमिरेचौर - कुनै नेताले जनता हिड्ने सडक कालोपत्रे गराउन सम्वन्धित पक्षलाई दवाव दिँदा मुद्दा लाग्छ भन्दा जो कसैलाई अनौठो लाग्न सक्छ ।तर यो वास्तविक घटना हो दाङ बंगलाचुली गाउँपालिकाको ।मुद्दा खेप्ने व्यक्ति हुनुहुन्छ बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर(शुवास)। जनता हिड्ने सडक कालोपत्रे गराउनका लागि चट्टानी अडान लिँदा अध्यक्ष पुनको नाममा सर्वोच्च अदालतमा मुद्दा परेको हो । अहिले गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले अहिले सर्वोच्चको मुद्दा खेपीरहनु भएको छ । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरलाई घोराही सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडले मुद्दा हालेको हो । 

अध्यक्ष पुनलाई उद्योगले मुद्दा हाल्नुको मुख्य कारण हो,"यस क्षेत्रमा रहेका सिमेन्ट उद्योगका ट्रिपरहरु चल्दा ध्वस्त भएको सडकलाई कालोपत्रे गराउँनका लागि सिमेन्ट उद्योगलाई पालिकाको तर्फबाट दावाव दिँनु ।" बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले सडकको अवस्था विग्रदाँ नागरिकको स्वास्थ्यमा गम्भिर असर परेको,साथै भौतिक संरचना समेत ध्वस्त पारेको हुँदा सडक कालोपत्रे भएपछि मात्र खानि संचालन गर्न दिने भन्दै सिमेन्ट उद्योगको ढुवानी रोक्नु भएको हो ।

अध्यक्ष पुनले घोराही सिमेन्ट,सम्राट सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका,जिल्ला प्रशासन कार्यालय दाङमा विभिन्न गरेको पूर्व सहमतिलाई कार्वान्वयन गराउनका लागि उद्योगहरुलाई दवाव दिनुभएको थियो । अध्यक्ष पुनको आह्वानमा मिति २०७९ साल जेठ २५ गते बंगलाचुली गाउँपालिकामा वसेको सर्वदलिय बैठकले खानि क्षेत्र (बंगलाचुली गाउँपिका वडा नम्वर ३ र ४ को तापा र थारा) सम्म पुग्ने पहुँच मार्ग कालोपत्रे सम्पन्न भएपछि मात्र उद्योग संचालन गर्ने निर्णय गरेको थियो । त्यसैगरी मिति २०७९ साल भदौ १२ गते बसेको अर्को सर्वदलिय बैठकले पनि पूर्व सहमितको कार्यान्वयन तथा सडक कालोपत्रेको काम सम्पन्न गर्नेगरी काम अगाडी बढाउन खानिलाई आग्रह गर्ने र सोही अनुसार काम सम्पन्न भएमा खानि संचालन गर्न दिने निर्णय गरेको गरेको थियो ।

उक्त निर्णय पछि सम्राट सिमेन्ट उद्योग र घोराही सिमेन्ट उद्योग लिमिटेडले आफ्नो क्षेत्र भागवण्डा गरी कालोपत्रे गर्ने सहमति गरी सम्राट सिमेन्ट उद्योगले आफ्नो भागमा परेको सडक कालोपत्रे सम्पन्न गरेको थियो । भने घोराही सिमेन्ट उद्योगले सडक कालोपत्रेको काम नगरी बंगलाचुली गाउँपालिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाली खानी संचालनको आदेश लिएर आयो । त्यस लगत्तै गाउँपालिकामा आएको विपदको समयमा पालिका अध्यक्षले विपदले गाउँपालिका क्षतविक्षद बनाएको अवस्थामा खानी संचालन हुँदा वातवरणिय असर झन बढ्ने भन्दै फेरी उद्योगका टिप्पर तथा उद्योग संचालन गर्न नसकिने भनि खानी संचालनमा रोकलगाउँदा घोराही सिमेन्ट उद्योगले गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरलाई सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।अहिले बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले सर्वोच्च अदालतमा तारेख बोकिरहनु भएको छ । 

गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकामा रहेका सिमेन्ट उद्योगहरु जनमैत्री नबन्दा अनेकौ समस्या आएको बताउनुभयो ।उहाँले बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका विभिन्न सिमेन्ट उद्योगहरुलाई व्यवस्थितरुपले संचालन गर्नका लागि आफुहरु लागिरहेको बताउनुभयो। उहाँले भन्नुभयो,"राज्यले उद्योग कलकारखानालाई सहज तरिकाले संचालन हुने वातावरण बनाउने हो ।स्थानिय सरकार तथा यहाँका सबै जनता त्यसमा सकारात्मक छौँ । तर पनि जहाँ उद्योगको श्रोत छ।कच्चा पदार्थ छ त्यहाँका जनतालाई यहाँको श्रोत साधनको प्रयोग हुँदा उद्योग प्रति गर्वको महसुस हुनेगरी काम गर्नुपर्छ।उद्योगहरुले जनतालाई त्यसको अनुभूत गराउन नसक्दा  उद्योग र जनताको विचमा सधै टकराब पैदा भयो।यसलाई अन्त्य गर्नका लागि मैले स्थानिय सरकारको प्रमुखको हिसावले मध्यस्थता गरेको हुँ।तर मलाईनै अहिले सम्मानीत सर्वोच्च अदालतमा मुद्दा हालिएको छ। म अहिले पनि तारेख बोकी रहेको छु । जनताको काम गर्ने क्रममा यस्ता खालका समस्याहरु आउँछ नै म यसबाट विचल्लित छैन।बंगलाचुलीको विकास,यहाँका जनताको हितका लागि म जस्तो सुकै पिडा पनि खेप्न तयार छु तर म जनतालाई हुने पिडामाथी चुप लागेर बस्न सक्दिन।"

गाउँपालिका अध्यक्षको अडानका कारण अहिले बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को तापा चोक देखी तापा सम्मको सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । 

बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरु बाट अहिले घोराही सिमेन्ट ईन्डस्ट्रिज लिमिटेड,सम्राट सिमेन्ट उद्योग प्रा.लि.,शुभश्री अग्नी सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगले कच्चापदार्थ उत्खननको अनुमती लिएर चुन ढुङ्गा उत्खनन् तथा ढुवानी गरिरहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको