दाङ - दाङ सहित तराई,मधेशका १५ जिल्लामा आजबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने अभियान सुरु भएको छ । दाङको बंगलाचुली गाउँपालिकामा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास),उपाध्यक्ष भक्त बहादुर जिसी लगाएत गाउँपालिका ८ वटै वडाका अध्यक्ष तथा सदस्यहरुले गाउँपालिकाले तोकेको विभिन्न स्थानमा पुगेर हात्तिपाईले विरुद्धको आमऔषधि खाने कार्यक्रममा सरिकभई अभियानको सुरुवात गर्नुभएको छ ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले सुधा माद्यामिक विद्यालय झेलटेना,बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को सिउँडेमा पुगेर हात्तिपाईले विरुद्धको आम औषधि सेवन गर्ने कार्यक्रमको उद्घाटन गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पुनले सुधा माद्यामिक विद्यालयमा हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गरेर अभियानको उद्धाटन गर्नुभएको थियो ।सो अवसरमा सुधा माध्यामिक विद्यालय झेलनेटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एनुराज खत्री, बंगलाचुली गाउँपालिका स्वास्थ्य शापा प्रमुख ईन्द्राकुमारी घर्ती, लुम्विनी प्रदेश स्वाथ्य निर्देशनालयका प्रतिनिधि जित बहादुर डागी,स्वास्थ्य कार्यालय दाङका खिमा भुसाल,सुधा माद्यामिक विद्यालयका प्रधाना ध्यापक ज्ञानेन्द्र ढकाल लगाएतले पनि औषधि सेवन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले हात्तिपाईले विरुद्धको आम औषधि सबैले सेवन गर्नुपर्ने बताउनु भयो । उहाँले यदि हात्तिपाईले विरुद्धको आम औषधि नखाएमा यसले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याउने भन्दै जसरी पनि आम औषधि खान सबैलाई अनुरोध गर्नुभयो ।त्यसैगरी कार्यक्रममा लुम्विनी प्रदेश स्वाथ्य निर्देशनालयका प्रतिनिधि जित बहादुर डागी, सुधा माध्यामिक विद्यालय झेलनेटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एनुराज खत्री ,स्वास्थ्य कार्यालय दाङका खिमा भुसाल,सुधा माद्यामिक विद्यालयका प्रधाना ध्यापक ज्ञानेन्द्र ढकाल लगाएतले बोल्नुभएको थियो ।
यता महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले हात्तिपाईले विरुद्धको आम औषधि सेवन गरेर अभियानको सुरुवात गर्नुभएको थियो । सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा,विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर वुढा,विद्यालयका अन्य शिक्षकले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेर अभियानको उद्धाटन गर्नुभएको थियो । यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर एक,दुई,तिन,चार,पाँच,छ,सात र आठका विभिन्न स्थानमा पनि आम औषधि सेवन गर्ने कार्यक्रम सुरु भएको छ । त्यी वडाहरुमा वाडका अध्यक्ष तथा सदस्यहरुले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेर अभियानको उद्घाटन गरिएको थियो । यो अभियान फागुन २५ गते सम्म निरन्तर चल्ने छ । बंगलाचुली गाउँपालिकामा यस वर्ष २३ हजार ४ सय ५८ जनालाई हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने लक्ष्य रहेको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ मा एकजना पुरुष तथा दुईजना महिलामा हात्तिपाईले रोगको संक्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दाङ, बाँके , पर्वत, बागलुङ, कपिलवस्तु ,कैलाली, झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा, रसुवा, र लमजुङ, जिल्लामा यो अभियान सुरुभएको छ । दाङमा आजबाट १३ औँ चरणको हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान सुरु भएको हो । दाङका १० वटै स्थानियतहमा आज बाट यो अभियान सुरुभएको हो । दाङमा यस वर्ष छ लाख ८७ हजार सात सय ७७ लक्षित जनसंख्यालाई आम औषधि सेवन अभियानमा जोड्न लक्ष्य रहेको छ । अभियान संचालनका लागि छ सय ५९ जना स्वास्थ्यकर्मी र प्राविधिकसहित करिब सात सयजना परिचालित छन् ।
हात्तीपाइले रोग जुनसुकै उमेर समूहका जोसुकैलाई लाग्न सक्ने र यो रोग लामखुट्टेको टोकाइका कारण एउटा मानिसबाट अर्को मानिसमा सर्ने भएकोले सबैले औषधि सेवन नगर्दासम्म निवारण हुन नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले रोग मसिनो धागो आकारको परजीवीबाट लाग्छ । हात्तीपाइलेको परजीवी क्युलेक्स जातको लामखुट्टेले टोके शरीरभित्र प्रवेश गर्छ । यसका जीवाणुले लसिका प्रणालीमा असर गर्छ ।
हात्तीपाइले रोग परजीवीले सर्ने भएकाले रोग लागिसकेपछि यसको उपचार छैन । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग भएकोले बेलैमा सचेत हुनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
हात्तीपाइले रोगबाट प्रभावित जिल्लामा बसोवास गरेका दुई वर्षमुनिका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, छारेरोग लागेका, ७ दिनसम्मका सुत्केरी, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाबाहेक अरूले यो औषधि सेवन गर्नुपर्ने हुन्छ । खाली पेटमा खान नहुने यो औषधि सेवन गरेपछि शरीरमा हात्तीपाइले रोगको परजीवी भएमा सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्य कर्मीहरुको भनाई छ ।