Chauthoanga - Nepali News Media
वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण नपाउने,एक जनाले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने

काठमाडौं - नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले एक भन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेकोछ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एक मात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो  ।

नेपाल राष्ट्र बैंकले आज लघुवित्तको लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै अहिले नै ऋण लिइसकेका ऋणीलाई नियमित तालिका अनुसार ऋण तिर्न उक्त व्यवस्थाले बाधा नपर्ने बताउनुभयो। यस्तै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यसअघि नै राष्ट्र बैंकले तोकेको एकल ग्राहक सीमा नाघ्नेगरी कर्जा लगानी गरेको लघुवित्तलाई एकल ग्राहक सीमा नाघ्नेगरी कर्जा लगानी गर्ने पछिल्लो लघुवित्तले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्’ संशोधित व्यवस्थामा भनिएको छ ।

उक्त व्यवस्थाका लागि लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकिन गर्नु पर्ने उल्लेख छ । तर, यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पुर्‍याएको नमानिने निर्देशनमा भनिएको छ ।

‘साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा सत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ’ संशोधित व्यवस्थामा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको