दाङ -हात्तीपाइले रोगबाट जोगिन नियमित औषधि खानै पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय दाङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरुले औषधि सेवन नगर्दा सबै जोखिममा परिरहेको बताए । सबैले नियमित औषधि सेवन गर्नुपर्ने भन्दै उनीहरुले औषधि सेवनमा छुटेमा जीवन भर दुःख पाइने बताए ।
हात्तीपाइले रोग जुनसुकै उमेर समूहका जोसुकैलाई लाग्न सक्ने र यो रोग लामखुट्टेको टोकाइका कारण एउटा मानिसबाट अर्को मानिसमा सर्ने भएकोले सबैले औषधि सेवन नगर्दासम्म निवारण हुन नसक्ने स्वास्थ्यकर्मीको भनाइ थियो । हात्तीपाइले रोग मसिनो धागो आकारको परजीवीबाट लाग्छ । हात्तीपाइलेको परजीवी क्युलेक्स जातको लामखुट्टेले टोके शरीरभित्र प्रवेश गर्छ । यसका जीवाणुले लसिका प्रणालीमा असर गर्छ ।
हात्तीपाइले रोग परजीवीले सर्ने भएकाले रोग लागिसकेपछि यसको उपचार छैन । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिइसकेपछि भने रोग निको पार्न नसकिने कार्यक्रममा जानकारी गराइयो । हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग भएकोले बेलैमा सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय दाङका हात्तीपाइले फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा सबैले औषधि सेवन गर्नुपर्ने उहाँको भनाइ थियो ।
हात्तीपाइले रोगबाट प्रभावित जिल्लामा बसोवास गरेका दुई वर्षमुनिका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, छारेरोग लागेका, ७ दिनसम्मका सुत्केरी, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाबाहेक अरूले यो औषधि सेवन गर्नुपर्ने कार्यक्रममा जानकारी गराइयो । खाली पेटमा खान नहुने यो औषधि सेवन गरेपछि शरीरमा हात्तीपाइले रोगको परजीवी भएमा सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कुँवरले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, पूर्वअध्यक्ष सविन प्रियासनलगायतले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबै आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सहजीकरण वामदेव खनालले गर्नुभएको थियो ।
दाङमा यस वर्ष छ लाख ८७ हजार सात सय ७७ लक्षित जनसंख्यालाई आम औषधि सेवन अभियानमा जोड्न छ सय ५९ जना स्वास्थ्यकर्मी र प्राविधिकसहित करिब सात सयजना परिचालन गर्ने तयारी छ । जिल्लाको तुलसीपुरमा सबैभन्दा बढी एक सय ६५ जना, घोराहीमा एक सय १० जना, राप्तीमा ६६ जना स्वास्थ्यकर्मी आम औषधि सेवन अभियानमा सहभागी हुने भएका छन् । यसैगरी, लमहीमा ५७, बबईमा ४२, दंगीशरणमा ३८, बंगलाचुलीमा ५०, गढवामा ४८, राजपुरमा ४१ र शान्तिनगरमा ४२ जना स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम दाङमा फागुन ११ गतेदेखि शुरु हुँदैछ । त्यसैको तयारी स्वरुप स्वास्थ्य कार्यालयले कार्यक्रम गरिरहेको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा एकै साथ औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो ।
झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम हुँदैछ । १५ जिल्लाका ८५ लाख जनसंख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ । यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य छ । सन् २००३ देखि ६४ जिल्लामा सञ्चालन गरिएको अभियान अहिले १४ जिल्लामा सञ्चालन हुँदै आएको छ । यी जिल्लाका बासिन्दामा हात्तीपाइले रोगविरुद्ध हरेक दुई–दुई वर्षमा रगत परीक्षण गर्दा पनि अपेक्षाकृतरुपमा नघटेकाले अभियान आयोजना गरिएको होे ।