दमक-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको बताउनुभएको छ । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।
आइतवार गृहनगर झापाको दमकमा आउनुभएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताउनुभयो । सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह गर्नुभयो ।
देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनु पर्दैन, ओलीले भन्नुभयो । यो सरकारले जनभावानाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धनलगायतका समस्याहरु सामधान गर्दै लैजाने ओलीले बताउनुभयो । कृषिको आधुनिकरण, रोजगार सिर्जना लगायतका बिषयमा पनि आफ्नो ध्यान गएको उहाँले बताउनुभयो ।
आइतबार अपरान्ह झापा आउनुभएका ओलीले अबेरसम्म बिभिन्न कार्यक्रममा सहभागी हुनुभयो । आइतवार बेलुका अबेर उहाँ दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा समेत सहभागी हुनुभयो ।
झापाको गौरादह –४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उहाँले उद्घाटन गर्नुभयो । यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उदघाटन र एक धार्मिक कार्यक्रममा सहभागी बन्नुभएको एमाले झापाका अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।