दाङ,- लुम्बिनी प्रदेशमा सरकार विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएको करिब महिना दिन पुग्दासमेत सरकार विस्तार हुन सकेको छैन। नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन् । एमाले संसदीय दलका नेता गिरी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
पुस २८ गते दुई मन्त्रीसहित शपथ लिएपछि अन्य मन्त्री नियुक्त हुन सकेका छैनन् । सरकारका प्रवक्ता एवं विनाविभागीय मन्त्री चेतनारायण आचार्यले यो साताभित्र मन्त्रिमण्डल विस्तार हुने दाबी गर्नुभयो । ‘माओवादी संसदीय दलका नेता मातृशोकमा परेका कारण मन्त्रालयमा विस्तार रोकिएको हो’, उहाँले भन्नुभयो, ‘एक साताभित्रै सरकारले पूर्णता पाउनेछ।’ लुम्बिनीमा सरकारलाई ८ दलले विश्वासको मत दिएका छन्। तीबाहेक दुई स्वतन्त्र सांसदको समेत समर्थन रहेकाले भागवण्डा मिलाउन कठीन भइरहेको छ।
लुम्बिनीमा एकीकृत समाजवादीले पनि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । माओवादी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति, जसपा, लोसपा सत्तामा साझेदार छन्। जनमतले एउटा मन्त्रालय पाउने निश्चित भएको छ । अन्य दलसँगको छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने जानकारी दिनुभयो। ‘सरकार विस्तारका विषयमा छलफल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘जनमन्तले एउटा मन्त्रालय पाउछ।’ भौतिक पूर्वाधार, सहरी विकास मन्त्रालयमा जनमतको दाबी रहेको सांसद गुप्ताले बताउनुभयो ।
यद्यपि, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय दिन मुख्यमन्त्री गिरी तयार नभएको बुझिएको छ । जनमले शिक्षा मन्त्रालय पाउने अपेक्षा गरेको छ । जनमतबाट गुप्ता नै मन्त्री हुने पक्का जस्तो भएको छ। उहाँ रुपन्देही क्षेत्र नम्बर ५ को २ नम्बर क्षेत्रबाट निर्वाचित हुनुभएको हो। लुम्बिनीमा लोसपा पनि सरकारमा जाने तयारीमा छ । मुख्यमन्त्री गिरीले मन्त्रालय र संसदीय समितिमा समर्थक दलहरूलाई भाग मिलाउने कसरत गरिरहनुभएको छ। लुम्विनि प्रदेशमा ६ वटा संसदीय समिति छन् ।