Chauthoanga - Nepali News Media
सूचना, सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा नियुक्त

काठमाडौँ-सूचना, सञ्चार तथा प्रविधिमन्त्री दाङ क्षेत्र नं. २ बाट निर्वाचित रेखा शर्मा नियुक्त हुनुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य रेखा शर्माले नेकपा (एमाले)का महासचिव शंकर पोख्रेललाई हराउनुभएको थियो । वि.सं. २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएकी उहाँ २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहिनुभएको थियो ।

वि.सं. २०२६ साल असोज ९ गते घोराहीको मसिनामा बुवा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिनुभएकी उहाँले २०४२ सालदेखि राजनीतिक यात्रा शुरु गर्नुभएको थियो ।

२०४२–०४३ देखि अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिा होमिनुभएकी उहाँ अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को दाङ अध्यक्ष, २०५० केन्द्रीय सदस्य, २०५१ मा वाइसिएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष हुनुभएको थियो ।

२०५७ सालमा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नुभएकी उहाँ काठमाडौं उपत्यका उपब्युरोको इन्चार्ज हुनुभयो । २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेर नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा कठोर यातना खेप्नुपर्यो ।

युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता शुरु भएपछि २०५९ चैत ३१ गते दुवै जना मुक्त हुँदै पार्टीका क्रियाशील हुुनुभयो । २०७० र २०७४ मा संसदीय दलको सचेतक हुनुभएको थियो । 

 
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको