Chauthoanga - Nepali News Media
जेलमै कल सेन्टर, जेलरसँँग कैदीबन्दी

- जे.एन. सागर 

घोराही - आफन्तले ल्याइदिएको अण्डाको एउटा क्यारेट भित्र ल्याउँदा मैले ५० रुपैयाँ कर तिर्नुप¥यो हजुर † हामीलाई अन्याय भो । जबर्जस्तीकरणीको कसुरमा कैद भुक्तान गर्दै आएका एक कैदीले ०७९ असार ३ गते घोराही कारागारका जेलर वासुदेव खनाललाई फोनमा गरेको गुनासो हो यो । जस्तोसुकै समस्या परे पनि सहेर बस्ने कैदी बन्दीहरुलाई आन्तरिक प्रशासनमा हुने बेथितिबारे गुनासो सुनाउन घोराही कारागारले जेलभित्रै कल सेन्टर स्थापना गरेपछि कारागारभित्रका बेथिति जेलरसम्म आउनेमात्रै होइन घोराही कारागार सुधारिन थालेको छ ।

आफन्तले घरबाट ल्याइदिएको सामान कारागारभित्र लैजाँदा कैदी बन्दीहरुले त्यहाँका चौकीदार र नाइकेहरुलाई कर तिर्नुपर्ने समस्या अहिले छैन । घरबाट सामान आए नाइकेहरुले जेलभित्र सञ्चालन गरेको पसलबाट सामान बिक्री नहुने भन्दै उनीहरुले बाहिरबाट आउने सामानको कर लिने गरेको थाहा पाएपछि तत्काल कारागार प्रशासनले आन्तरिक प्रशासनलाई सुधारका लागि निर्देशन दियो र अहिले आफन्तले ल्याइदिएको सामान मापदण्ड पु¥याएर बिनारोकटोक कैदीबन्दीले पाउन थालेका छन् ।

कलसेन्टरबाटै अर्का एक बन्दीले जेलर खनाललाई बिरामी हुँदा छिटो छरितो अस्पताल जाने व्यवस्था मिलाइदिन आग्रह गरे । कारागारको गाडी थिएन । भाडाको गाडी खोज्दा खोज्दै विरामीले समयमा उपचार नपाउने समस्या थियो तर अहिले त्यो समस्या पनि हट्यो । मंसिर ८ गते बलेरो जीप ल्याइएको छ । २४ सै घण्टा कैदी बन्दीको उपचारमा यातायातको सेवा घोराही कारागारले पहिलो पटक पाएको छ । पौने ४ सयको हाराहारीमा कैदी बन्दी भइरहने घोराही कारागारमा सातवटा शौचालय थिए । हरेक दिन बिहान शौचका लागि लाइन लाग्नुपर्ने बाध्यता थियो । कल सेन्टरमार्फत जेलरसामु कैदी बन्दीले बारम्बार समस्या सुनाए । अहिले कारागारमा १५ वटा शौचालय छन् । आठवटा नयाँ शौचालय थपेपछि शौचका लागि लाइन बस्ने समस्या अलि कम भएको छ ।

जेलभित्रै कल सेन्टर स्थापना गरेर जेलरले कैदी बन्दीका गुनासा सुन्न थालेपछि कारागार आन्तरिक प्रशासन र त्यहॉँ हुने बेथितिको अन्त्यमात्रै होइन थुप्रै समस्या सुनुवाइ हुन थालेका छन् । गोप्य ठाउँबाट कैदी बन्दीका गुनासा सुन्ने व्यवस्था कारागारमा विरलै हुन्छ अन्यत्र । चौकीदार, नाइके र सहनाइकेकै निगरानीमा रहेर कुरा गर्ने व्यवस्था कारागारमा हुन्छ तर उनीहरुकै विरुद्ध बोल्न सक्ने अवस्था नहुँदा कारागारभित्र बेथिति बढेपछि घोराही कारागारले छुट्टै कल सेन्टरको व्यवस्था गरेको हो । सिधा सम्पर्क जेलरसँग कार्यक्रम नाम दिएर ०७९ असार ३ गतेदेखि कल सेन्टर शुरु गरिएको हो । शुरुमा हरेक हप्ताको शुक्रबार कैदीबन्दीहरुले कल सेन्टरबाट जेलरलाई निःशुल्क फोन गरेर गुनासा सुनाउन थालिएको हो । हालसम्म ९० वटा गुनासा आएका र त्यसको ९० प्रतिशत समस्या समाधान गरेको जेलर खनालले बताउनुभयो । त्यसैले अहिले महिनामा एक पटकमात्रै सिधा सम्पर्क जेलरसँग कार्यक्रम गरिन्छ ।

‘भित्र समस्या भए जस्ताको तस्तै भनिहाल्छन् त्यसैले आन्तरिक प्रशासन पनि सजग भएको देखिन्छ’– जेलर खनालले भन्नुभयो– ‘कैदी बन्दीमाथि हुने बेथिति कम हुँदै गएका छन् । कल सेन्टरबाट आएका मध्ये ९० प्रतिशत समस्या समाधान पनि गरेका छौं ।’ नेपाल सरकारले हरेक कैदी बन्दीलाई दैनिक सात सय ग्राम चामल र ६० रुपैयाँ सिदा भराउँछ तर त्यो सिदा तिनै चौकीदार, नाइकेहरुबाट एकमुष्ठ दिने व्यवस्था भएकाले कमसल खालको चामल खुवाएर रकम हिनामिना गर्ने कारागारको आन्तरिक प्रशासनको आम प्रवृृत्ति छ तर कैदी बन्दीहरुलाई खुवाउने खाना जेलर आफैले खाएर नियमित जाँच गरिहनुभएको छ ।

सुविधै सुविधा

समस्यै समस्याले गुज्रिएको घोराही कारागारका कैदी बन्दीहरुले सुविधै सुविधा पाउन थालेका छन् । ५१ किलो भन्दा कम तौल भएका सबै कैदी बन्दीलाई पोषण प्याकेज दिइन थालिएको छ । हर्लिक्स, च्यवनप्रास, अण्डालगायत नियमित खानामा पनि थप जोड दिइएको छ । ‘स्वस्थ र सुधारिएको नागरिक निर्माणका लागि पोषण प्याकेज ल्याएका हांै’ं– जेलर वासुदेव खनालले भन्नुभयो– ‘कोही त लागू औषध सेवनले ३० किलोको ज्यान लिएर आउँछन् उनीहरुलाई झन पोषणको ध्यान दिइन्छ । यतिमात्रै होइन सकारात्मक सोचको विकास गर्न कैदी बन्दीलाई हरेक १५ दिनमा योगा र बेला–बेलामा ध्यान साधना गराइन्छ भने स्वस्थताका लागि खेल खेलाइन्छ । पत्थरीका रोगीलाई पानी खुवाएर स्किपिङ गराउने, भलिवल, व्याडमिन्टन, चेस र जिमका सामग्रीको व्यवस्था पनि कारागारभित्रै गरिएको छ । दुईवटा खेलकूद ग्राउण्ड निर्माण गरिएको छ भने सूचना प्रवाहका लागि दैनिक पत्रिकाको उपलव्धता, अध्ययनका लागि पुस्तकालयको व्यवस्था, कम्प्यूटर सिक्ने व्यवस्था गरिएको छ । यहाँसम्म कि रोजगार गर्नेलाई गलैंचा बुन्ने, टोपी बुन्ने, मुढा निर्माणजस्ता थुप्रै काममा ज्यालादारी गरेर आयआर्जनको व्यवस्था पनि गरिएको जेलर खनालले बताउनुभयो । उहाँका अनुसार कारागारभित्रै दन्त शिविर, मनोसामाजिक परामर्शको कार्यक्रम पटक–पटक गरिएको छ ।

कारागार सुधारका लागि सर्वेक्षण

कारागारभित्रको बेथिति सकेसम्म बाहिर आउँदैन । त्यसैले न्यूनतम मानवअधिकारको अवस्था बुझ्न बेला–बेलामा अनुगमन गरिन्छ तर वर्षौं बस्नुपर्ने कैदीहरुले त्यहींको प्रशासनविरुद्ध बोल्न सक्दैनन् । सबै ठीक छ भन्ने आवाज बाहिर आउँछ तर सिंगो कारागारलाई सुधार गृहका रुपमा विकास गर्न घोराही कारागारले कैदी, बन्दी सर्वेक्षण थालेको छ । देशमै पहिलो पटक घोराही कारागारले कैद भुक्तान गरी जाने कैदीलाई कारागारको समस्या, सुरक्षा, सेवा, आन्तरिक व्यवहारजस्ता सवाल राखेर ३६ बुँदे फाराम भर्न लगाएर सर्वेक्षणको काम शुरु गरेको छ । जसले गर्दा कारागारलाई सुधारकेन्द्रको रुपमा विकास गर्न सकियोस् भन्ने ध्येय छ । कर्मचारीको व्यवहार, अनुशासन, पसलमा सामानको मूल्यजस्ता कैदीले भित्र बस्दा दैनिक खेप्नुपर्ने समस्या र सुधारलगायतका सवाल सोधेर अभिलेख राख्न थालिएको छ । जसले कारागार सुधारमा ठूलो पृष्ठपोषणको काम भइरहेको घोराही कारागारले जनाएको छ । सरकारले कैदी बन्दीको सेवा व्यवस्थापनका लागि वार्षिक दुई अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । यदि यिनै कैदी फेरि कारागारमै आउने अवस्था दोहोरिरहने हो भने राज्यको ठूलो लगानी खेर गइरहने छ । जेलर खनालले भन्नुभयो– ‘एक पटक मान्छेले जानअन्जानमा गलत गर्छ । कतिपय परिस्थितिमा पर्छन् । उनीहरुलाई असल मान्छे बनाएर पठाउन सकियो भने राज्यको लगानी जोगिन्छ । हामी स्थानीय सरकार, सामाजिक संघ संस्था र अभियन्तासँगको सहकार्यमा जेललाई सुधार केन्द्र र कैदीलाई असल नागरिक बनाउने अभियानमा छौं ।’ साभार-याँयुगबोध राष्ट्रिय दैनिक

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०९:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको