दाङ- लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार (आज) बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।
प्रदेश सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको छ ।
दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव जानकारी दिनुभयो। बैठकमा राजनीतिक दलहरुको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची पनि रहेको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेश सभामा यसपटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।