Chauthoanga - Nepali News Media
पार्टीभित्रको 'सानो गिरोह'को सत्तालिप्साले सबै गुमेको काग्रेस कोइराला समूहको निष्कर्ष

काठमाडौँ — नेपाली कांग्रेसका शेखर कोइराला - गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको 'सानो गिरोह'को सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ । सो समूहको आज राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

'सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो,' कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, 'संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।'कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित हुनुहुन्थो।

सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ । प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए । त्यसपछि शेखर-गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन् । थापाले भने सरकार गठनका विषयमा दाहालसँगको छलफलमा आफूहरूलाई नबोलाएको भन्दै यसअघि नै असन्तुष्टि जनाइसकेका थिए ।

एमालेसहितको सात राजनीतिक गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । शेखर- गगन समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो । समूहका धेरै नेताहरु बाहिर भएकाले छलफललाई निरन्तरता दिने गरी बैठक सकिएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको