काठमाडौं - नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभाका लागि संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ४ र इतरबाट २ जनाले दलको नेतामा दाबी गरेका छन् ।
संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट दाबी गरेका चार मध्ये २ जना गृहमन्त्री बालकृष्ण खाँण निकट हुन् ।
दाङ–२ (क) बाट निर्वाचित राजु खनाल र बर्दिया २ (क) बाट निर्वाचित जन्मजय तिमिल्सिना गृहमन्त्री खाँण निकट हुनुहुन्छ । खनालले विद्यार्थी राजनीति हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका थिए । तिमिल्सिना विगतमा खाँणको सचिवालयमा समेत काम गरेका व्यक्ति हुनुहुन्छ ।
उनी गत महाधिवेशनमा प्रदेश महामन्त्रीमा पराजित हुनुभएको थियो । संस्थापनबाट संसदीय दलको नेतामा चर्चामा रहेका अर्का पात्र डिल्ली चौधरी हुनुहुन्हुछ । दाङ–३ (क) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री हुनुहुन्छ । चौधरी संविधानसभाका सदस्य समेत हुनुहुन्छ ।
रुपन्देहीका पूर्व जिल्ला सभापति अब्दुल रज्जाक संसदीय दलको नेतामा दाबी गर्नुभएको छ। रुपन्देही–१ बाट प्रतिनिधि सभामा आकांक्षी रहेका उनी मुख्यमन्त्री हुने बचन पाएपछि प्रदेशमा उठ्न तयार हुनुभएको थियो ।
संस्थापनइतरबाट वीरबहादुर रानाको नाम चर्चामा छ । उहाँ पाल्पाका पूर्व जिल्ला सभापति हुनुहुन्छ । पाल्पा २ (क) बाट निर्वाचित राना हाल प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुनुहुन्छ । सोही समूहबाट महिलामा निमा गिरीले आकांक्षा देखिनुभएको छ। प्रदेश सभामा नौ महिला सांसद छन् ।
नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेकी उहाँ प्रदेशको सह-महामन्त्री हुनुहुन्छ । प्युठानबाट उहाँ समानुपातिकबाट प्रदेश सांसद बन्नुभएको हो । कांग्रेसले संसदीय दलको नेताको चयन पुसको दोस्रो साता गर्ने तयारी गरेको छ ।
‘१५/१६ गतेतिर सांसदको सपथ गराउने कुरा सुनिएको छ । त्यसको आसपास कांग्रेसको संसदीय दल नेता छान्न चुनाव गर्ने सोंचेका छौं ।’ लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भन्नुभयो ।लुम्बिनीको कांग्रेस राजनीतिमा गृहमन्त्री खाँण प्रभावी हुँदै आएका छन् । प्रदेश कार्यसमितिको नेतृत्व भने इतर पक्षका छन् । प्रत्यक्ष १७ र समानुपातिकमा १० गरि कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् ।
प्रदेश सभामा कूल ८७ संख्या छ । बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ । सत्ता गठबन्धनसँग ४१ सांसद छन् ।