काठमाडौँ — नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।सिंहदरबारस्थित दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई प्रतिनिधिसभा तथा संघीय संसदीय दल नेतामा सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतकमा हितराज पाण्डेलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।
बैठकले दलको अन्तरिम विधान पारित गरेको र अर्को व्यवस्था नभएसम्म त्यही विधानअनुसार अगाडि बढ्ने निर्णय गरिएको छ । बैठकले सांसदहरुलाई कार्यशालासहित प्रशिक्षण सञ्चालन गरेर व्यवस्थित गर्ने निर्णय पनि गरेको माओवादी केन्द्र संसदीय दलका नवनिर्वाचित प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको उपनेता, सचेतकलगायत विषयमा भने क्रमश गृहकार्य गर्दै अगाडि बढ्ने माओवादीले बताएको छ । माओवादी केन्द्रको उपनेतामा भने नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।
संसदीय दलको बैठकअघि माओवादी केन्द्र पदाधिकारी बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको थियो ।