Chauthoanga - Nepali News Media
प्रतिनिधिसभामा १२ वटा दल, ७ दललाई राष्ट्रिय मान्यता, समानुपातिकतर्फ सबैभन्दा धेरै सिट

काठमाडौँ - प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाएका ७ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् । अन्तिम मत परिणामअनुसार कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८ सय २ मत आवश्यक पर्ने आयोगले जनाएको छ ।समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन भने सकेन । राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई १८ हजार ४ सय ११ मत अपुग भएको छ । थ्रेसहोल्ड नकटाउने अरु ४० वटा दलले प्राप्त गरेको समानुपातिकतर्फको मत पनि खेर गएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी एमालेले थ्रेसहोल्ड कटाउने ७ दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेको छ । एमालेले समानुपातिक तर्फ ३४ सिट पाउने भएको छ । एमालेको प्रत्यक्षमा ४४ सिट छ । कुल ७८ सिटसहित एमाले दोस्रो दल बनेको छ ।समानुपातिकमा दोस्रो रहेको नेपाली कांग्रेसले झण्डै २९ प्रतिशत मत प्राप्त गरेको छ । कांग्रेसले ३२ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्षतर्फ ५७ र समानुपातिकको ३२ गरी कांग्रेस कुल ८९ सिटसहित पहिलो दल बनेको छ । 
तेस्रोमा रहेको माओवादी केन्द्रले झण्डै १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट पाउने भएको छ । माओवादीले प्रत्यक्षतर्फ १८ र समानुपातिकमा १४ गरी ३२ सिट पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकमा १२ प्रतिशत मत प्राप्त गरी १३ सिट पाउने भएको छ । स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ । कुल २० सिटसहित स्वतन्त्र पार्टी चौथो दल बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेको छ । राप्रपाले ७ सिट पाउने भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको गरी राप्रपाको १४ सिट हुने भएको छ । जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेको छ । उसले ५ सिट पाउने छ । जसपाको प्रत्यक्षतर्फ ७ सिट रहेको छ । 

जसपाको समग्रमा १२ सिट हुनेछ । त्यस्तै जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिक तर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतको प्रत्यक्षमा १ सिट छ । जनमतको कुल ६ सिट हुनेछ । प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा एमालेले पाएको छ। आज निर्वाचन आयोगले संख्या सार्वजनिक गरेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिटको तथ्यांक अनुसार समानुपातिकमा सबैभन्दा बढी मत ल्याउने दल एमाले बनेको हो । 
एमालेले केन्द्रमा प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। यसैगरी, दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट पाएको छ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ सिटसहित २९ सिट पाएको छ। प्रदेश सभामा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको